लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ सर्वसम्मत चयन भएका छन्। शनिबार, २६ अप्रिल २०२५ मा आशफोर्डस्थित सगरमाथा गोर्खा/नेपाली कम्युनिटी हलमा सम्पन्न १७औँ वार्षिक साधारणसभा तथा ९औं अधिवेशनले गुरुङलाई अध्यक्ष पदमा चयन गरेको हो ।
यसअघि उनी गुरुङ सोसाइटी केन्ट युकेको प्रथम उपाध्यक्षको रूपमा जिम्मेवारी लिएका थिए । लामो समयदेखि समाजमा सक्रिय रहँदै आएका गुरुङलाई सदस्यहरूले पूर्ण विश्वासका साथ नेतृत्व सुम्पिएका हुन् । यसअघि गुरुङ सोसाइटी केन्ट यूकेलाई ८ जना अध्यक्षहरूले नेतृत्व गरिसकेका छन् ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ममता गुरुङ, द्वितीय उपाध्यक्षमा तोरण गुरुङ, महासचिवमा पवित्र गुरुङ, सचिवमा वसन्त गुरुङ, सहसचिवमा कुमार गुरुङ, कोषाध्यक्षमा मानबहादुर गुरुङ, सहकोषाध्यक्षमा सन्तोष गुरुङ, सांस्कृतिक संयोजकमा उमादेवी गुरुङ, सांस्कृतिक सहसंयोजकमा निर्मला गुरुङ, महिला संयोजकमा इशु गुरुङ, महिला सहसंयोजकमा हीरा गुरुङ, मिडिया तथा वेबसाइट संयोजकमा होम गुरुङ, सहायक मिडिया तथा वेबमास्टरमा रोशन गुरुङ, खेलकुद संयोजकमा सन्तोष गुरुङ, खाना तथा जलपान व्यवस्थापकमा नरेन्द्र गुरुङ र विकास (बिनु) गुरुङ, ज्येष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ र युवा संयोजकमा सुश्री प्रेरणा गुरुङ चयन भएका छन् । रिक्त पदहरूमा नवगठित कार्यसमितिले मनोनयन गर्ने छ।
कार्यक्रमको पहिलो चरणमा समाजका अध्यक्ष डोलबहादुर गुरुङ र समाजका सबैभन्दा ज्येष्ठ नागरिक देवनारायण गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी साधारणसभाको औपचारिक उद्घाटन गरेका थिए । त्यसपछि प्रथम उपाध्यक्ष गोलमान गुरुङले सभामा उपस्थित सबैजनालाई स्वागत मन्तव्य राखे । महासचिव तोरण गुरुङले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी प्रस्तुत गर्दै सभा सञ्चालन गरे ।
वार्षिक साधारणसभाको पहिलो चरणमा कोषाध्यक्ष भिष्मा गुरुङले समाजको आर्थिक प्रतिवेदन, कार्यसमितिका पदाधिकारीहरूले आ-आफ्नो प्रतिवेदन र महासचिव तोरण गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
कार्यसमितिको प्रतिवेदन प्रस्तुतिपछि मुख्य एजेन्डाका विषयहरूमा सदस्यहरूले संस्थाको सर्वोपरी हित, पारदर्शिता, हालसम्मको प्रगति र हुँदै गरेका गतिविधिहरूप्रति खुशी व्यक्त गर्दै रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए ।
पहिलो चरणको अन्त्यमा अध्यक्ष डोलबहादुर गुरुङले धन्यवाद मन्तव्य राख्दै आठौँ कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरे । समाजको नवौँ कार्यसमिति चयनका लागि दोस्रो चरणमा निर्वाचन समितिले औपचारिक कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन समितिका प्रमुख राजदेवी गुरुङ, सचिव शेरबहादुर गुरुङ र सदस्य बलराम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको घोषणा गरिएको थियो ।
नयाँ कार्यसमिति घोषणापश्चात् निर्वाचन समितिका प्रमुख राजदेवी गुरुङले सहभागी सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचन सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार प्रकट गर्दै मन्तव्य राखिन् ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित कार्यसमितिका सदस्यहरूले नयाँ जिम्मेवारीको शपथ लिएका थिए।
अन्त्यमा नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङले आफूलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरिएकोमा खुसी व्यक्त गर्दै सबैप्रति धन्यवाद मन्तव्य राखेका थिए।

गण्डकी प्रदेश, कास्की जिल्लाको रमणीय गाउँ धम्पुसमा जन्मिएका गोलमान गुरुङ पूर्वब्रिटिस गोर्खा सैनिक, दक्ष ड्राइभिङ प्रशिक्षक तथा समर्पित समाजसेवी हुन् । हाल उनी बेलायतको आसफोर्डमा परिवारसँग बसोबास गर्दै आएका छन् ।
सन् १९९२ मा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भई २२ वर्ष सेवा पूरा गरी उनले सन् २०१४ मा अवकाश लिए। अवकाशपछि फुर्सदको समय समाजसेवामा समर्पण गरे । सन् २०१७ र २०१८ मा बेलायतभरिका उत्कृष्ट ड्राइभिङ प्रशिक्षकहरूको प्रतिस्पर्धामा LGV Instructor of the Year अवार्डका लागि दुई पटक फाइनलिस्ट बने । यो उपलब्धि उनको दशकौँको अनुभव, कडा परिश्रम र निरन्तर योगदानप्रति दिइएको उच्च सम्मान र एक अविस्मरणीय उपलब्धि थियो ।
सामाजिक क्षेत्रमा पनि उनको योगदान निकै गहिरो छ । उनले गुरुङ सोसाइटी केन्ट युकेको महासचिव (दुई कार्यकाल) र प्रथम उपाध्यक्ष, धम्पुस पोखरी घोताने परिवार यूकेको निवर्तमान अध्यक्ष र हाल धम्पुस परिवार यूकेको महासचिव (दोस्रो कार्यकाल) को रूपमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
त्यस्तै, सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्ट, मञ्जुश्री माने मोन्लोम तमु आमा समूह र बुद्धिस्ट कम्युनिटी सेन्टर केन्टमा पनि उनी निरन्तर आबद्ध छन् । साथै, अन्य थुप्रै सामाजिक संघ–संस्थाहरूमा पनि सक्रियताका साथ निरन्तर रूपमा संलग्न छन् ।
त्यसैगरी नेपाल–वेल्सबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन स्थापना गरिएको धम्पुस–ब्रेकन ट्विनिङ एसोसिएसनमा अग्रणी भूमिका रहँदै आएको छ । यस पहलमार्फत उनले दुई देशबीचको मित्रता र सांस्कृतिक आदानप्रदानलाई जीवन्त राख्न उल्लेखनीय योगदान पुर्याएका छन् ।
गोलमान गुरुङ लामो समयदेखि सामाजिक सेवामा समर्पित, अनुशासित र प्रेरणादायी नेतृत्वकर्ता हुन् । गुरुङ सोसाइटी केन्ट यूकेको नेतृत्वमा उनको दृष्टिकोण र अनुभवले समाजलाई अझ उचाइ र प्रगतिको बाटोमा लैजाने विश्वास गरिएको छ।