काठमाडौं । बौद्ध धर्मालम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन सेम्टेम्बर अन्तिम साता काठमाडौँमा हुने भएको छ ।
अनामगरस्थित तमु बौद्ध सेवा समिति नेपालको सभा हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा २०२५ सेप्टेम्बर २५ र २६ (२०८२ असोज ९ र १०) मा महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे जानकारी दिइएको हो । सम्मेलनमा नेपाल, भारत, भूटान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मालम्बी गुरुङ समुदायको करिब ५ सय जनाको सहभागिता रहने अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्का अध्यक्ष डा कुमार गुरुङले जानकारी दिए ।
अध्यक्ष डा. गुरुङले आफू नेतृत्वमा आएपछि संस्थालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरिएको भन्दै गुरुङ बुद्धिजम के हो ? यसको अवधारणा, यसले अपनाउने पेक्ष्या (संस्कार, संस्कृति)का बारेमा विस्तृत छलफल गरेर 'गुरुङ बुद्धिजम पेक्ष्या'नामक निर्देशिका जारी गर्न अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताए । उनले गुरुङ समुदायमा रहेको भाषा, धर्म, संस्कार र संस्कृतिको विविधतालाई एकरुपता ल्याउने उद्देश्य संस्थाको रहेको पनि प्रस्ट्याए ।
पत्रकार सम्मेलनमा विज्ञप्ति वाचन गर्दै अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् नेपालका अध्यक्ष ध्रुवबहादुर गुरुङले अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप २०८२ वैशाख १३ गते काठमाडौंको तमू बौद्ध सेवा समिति, वैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौ सदन, वैशाख १६ गते पोखराकै पार्दी तमू समाज र वैशाख २० गते झापाको माईधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूसँग बौद्ध धर्म र गुरुङ संस्कार संस्कृतिबारे विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरिने बताए ।
उनीहरुले विश्वभर छरिएर रहेका बौद्ध धर्म मान्ने गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरुलाई महाधिवेशनमा सहभागी हुन अपिलसमेत गरे ।
त्यसैगरी नेपाल, भारत, भूटान र संयक्त राज्य अमेरिकाका गरी चार देशका प्रतिनिधिहरूसहित मे १७ तारिख (जेठ ३)मा भारतको सिलगुढी, मे १८ तारिख (जेठ ४)मा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, मे १९ तारिख (जेठ ५) मा गान्तोक, र मे २० तारिख (जेठ ६) मा याङ याङमा अन्तरक्रियायाहरु आयोजना गरिने छन् । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफल आयोजना गर्ने कार्यक्रम छ । यी कार्यक्रमहरुमा सहभागी भई आफ्नो महत्वपूर्ण सुझावहरू राख्न अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्ले अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, बौद्ध धर्मको पञ्चशीलमा आधारित मूल्य र मान्यताका आधारमा गुरुङ संस्कार संस्कृतिलाई अनुसरण गर्ने गुरुङ समुदायका सदस्यहरूको अन्तर्राष्ट्रिय संस्था हो । २०७६ सालमा स्थापित यो संस्थाको बौद्धमार्गी गुरुङ समुदायको बसोबास रहेका विभिन्न देशहरूमा राष्ट्रिय परिषद्हरू पनि क्रियाशील छन् । परिषद्ले गुरुङ संस्कार संस्कृतिमा विशेष भूमिका निर्वाह गर्ने लामा गुरुहरूलाई परम्पराको संरक्षण तथा निरन्तरताका लागि उत्प्रेरित गर्छ । साथै, गुरुङ संस्कार र बौद्ध धर्मलाई एकैसाथ बुझ्ने तथा अभ्यास गर्ने गुरुहरूको संरक्षण र उत्पादनलाई प्रवर्धन गर्दै समुदायको संस्कारमा न्यूनतम मापदण्डहरुमा एकरूपता र एकता कायम गर्ने उद्देश्य राखेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्का अध्यक्ष डा. कुमार गुरुङ, उपाध्यक्ष तथा राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् नेपालका अध्यक्ष ध्रुवबहादुर गुरुङ, अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्का उपाध्यक्ष डा.छम्प मेघी लामा गुरुङ, महासचिव पुष्पबहादुर गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु,विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुको सहभागिता थियो ।