लन्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेको वार्षिक साधारणसभा र नयाँ वर्ष २०८२ उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
गत आइतबार २० अप्रिल २०२५ मा अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा संस्थाका अध्यक्ष थर्क रानाको सभापतित्व र नेपाल चाप्टर (भूतपूर्व सैनिक कल्याणकारी समिति नेपल)का अध्यक्ष हुम बहादुर थापाको प्रमुख आतिथ्यमा संस्थाको पहिलो वार्षिक साधारणसभा भव्यताको साथ सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष थर्क राना र प्रमुख अतिथि हुम थापाले पानसमा बत्ती बालेर उद्घाटन गरे । साधारणसभामा बेलायतमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सल्लाहकारहरु, केन्द्रीय समितिका सदस्यहरु साथै सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
महासचिव भक्त रानाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष दलबहादुर बुढाथोकीले स्वागत मन्तव्य राखे । विशिष्ट अतिथि र अतिथिहरुलाई शोभा राना र रामलादेवी राईलगायतले खादा लागाएर स्वागत गरेका थिए । त्यस्तै कोषाध्यक्ष याम थापाले संस्थाको अहिलेसम्मको आर्थिक विवरण प्रस्तुत गरेका थिए भने सहप्रवक्ता दिर्ग गुरुङले विधान संशोधन प्रस्तुत गरी पारित गराएका थिए ।

प्रमुख अतिथि हुम थापाले नेपाल च्याप्टर तथा समितिको विषयमा जानकारी दिएका थिए भने सीएनसीबीजीका अध्यक्ष श्री थर्क राना, केन्द्रीय सदस्य कृष्ण राई र सल्लाहकार भूपू मेजर वीरबहादुर सुनुवारको एक डेलिगेसन नेपाल गएको बेला सीएनसीबीजी र भूपू सैनिक कल्याणकारी समितिको संयुक्त संयोजकत्वमा गृहमन्त्री रमेश लेखकसँगको भेटलगायत १० फागुन शनिबार दिन ललितपुरको जावलाखेलस्थित सालिग्राम होटेलमा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा पूर्वमन्त्री तथा सांसदहरुको उपस्थितिमा गरिएको जानकारी भेला र विभिन्न मन्त्रालय तथा पार्टी कार्यालयमा पुगी बुझाइएको ज्ञापनपत्रहरुको बारेमा केन्द्ररीय सदस्रय राईले अपडेट गराएका थिए ।
कार्यक्रममा सल्लाहकार डा. मुलिवीर राईले वंशजको आधारमा नेपाली नागरिकता निरन्तरताको अभियान तथा यसको महत्व र आवश्यकताबारे विभिन्न तथ्य र आधारहरु पेस गर्दै सबैलाई सीएनसीबीजीको अभियानमा स्वत: स्फूर्त जोडिएर सहयोग गर्नुपर्ने आजको आवश्यकता हो भन्दै जोड दिएका थिए ।

त्यसैगरी गोर्खा अभियन्ता एवं अनसनकर्ता तथा नेपाल समाजवादी कांग्रेस पार्टीकी उपाध्यक्ष पुष्पा राणा घलेले पूर्ववक्ताहरुको भनाइप्रति समर्थन जनाउँदै सन्धि सम्झौताअन्तर्गत भर्ती भएका गोर्खालीहरु र तिनका सन्ततिहरुलाई नेपाल सरकारले बिनाशर्त नागरिकता निरन्तरता दिनुपर्छ भन्दै त्यस कुरामा नेपाल सरकारलाई दबाब सिर्जना गर्न र सम्बोधन गराउन सबै गोर्खा संघ संस्थाहरुबीच एकताको खाँचोसहित एकताका लागि जोडदार रुपमा आह्वान गरे ।
पहिलो सत्रको अन्त्य हुँदै गर्दा सम्पूर्ण संस्थाबाट उपस्थित प्रतिनिधिहरु तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमु, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन मगर, जिमी राई उत्थान समाज यूकेका क्या. सहविर राई, बुटवल एसोसिएसन यूकेका क्या. (रि) ताम ढेंगा, तमु समाज केन्टका क्या. (रि) डोलबहादुर गुरुङ, पैंयुखोला मगर समाज यूकेका अध्यक्ष नेत्र आले, गोर्खा नेपालीज कम्युनिटी पिटरबरोका सचिव तुल पुन र निर्मल थापा मगर महासचिव, मगर बुद्धिष्ट सोसाईटी यूके देवबहादुर गुरुङ अध्यक्ष, कोशोभो गुरुङ समाज यूके, नरेन्द्र नेम्बाङ योग प्रशिक्षक, नरेश गुरुङ पूर्वअध्यक्ष बीसीसी यूके, देउ गुरुङ संस्थापक कोशोभो गुरुङ समाज यूकेलगायत सहभागी थिए ।

यसैगरी सल्लाहकारहरु क्या. (रि) वीरबहादुर गाहा, क्या.(रि) रणध्वज राना, क्या.(रि)लालबहादुर राना, क्या.(रि) डेमबहादुर गुरुङ, ले.(रि) प्रेम तामाङ, मे.(रि) भीमबहादुर गुरुङ एमभीओ संस्थापक अध्यक्ष कोशोभो गुरुङ समाज यूके, मे.(रि) कुलबहादुर थापा, डा.मुलिविर राई, नारायण किशोर पुन, क्या. सहविर राई, डा. चजिन्द्र राना, क्या. सहविर राई सबैलाई समर्थन र ऐक्यबद्धताका लागि एकमुष्ट धन्यवाद ज्ञापन गरिएपछि दोस्रो चरणमा डीसीएम शोभराज गुरुङ र ८४ वर्षीय ठीटो क्या.रि वीरबहादुर गाहामगर र चर्चित गायिका पवित्र गुरुङलगायतले नयाँ वर्षको धमाका मच्चाएका थिए ।
अपराह्न १ बजे सुरु भएको कार्यक्रम राति १० बजेतिर समापन भएको थियो ।



