लन्डन । हिमशक्ती फाउन्डेसन नेपालले कर्णालीका महिलाहरूको सहयोगका लागि बेलायतमा च्यारिटी डिनर गर्ने भएको छ । आगामी ११ मे २०२५ का दिन अल्डरसटस्थित एम्पायर हलमा फन्डरेजिङ च्यारिटी हुन लागेको हो ।
‘फ्रम कर्णाली टु द वर्ल्ड- वान किक एट अ टाइम’ नारासहित कर्णालीको लैंगिक समानता, महिलाहरूलाई शिक्षा र खेलकुदमा अघि बढाउन फन्डरेजिङ गर्न लागिएको संस्थाकी फाउन्डर एवं नेपालकी राष्ट्रिय फुटबल खेलाडी सिर्जना सिंह ठकुरीले बताइन् ।
कार्यक्रममा उपस्थित भएर हौसला बढाइदिन र सहयोग गरिदिन पनि उनले अनुरोध गरेकी छन् । कार्यक्रम दिउँसो ४ बजेदेखि साँझ ८ बजेसम्म हुनेछ । टिकट ३० पाउन्ड तोकिएको छ ।
ठकुरीले कर्णाली प्रदेशका महिलाहरूको सशक्तीकरणमा काम गर्ने उद्देश्यसहित हिमशक्ति फाउन्डेसन स्थापना गरेकी हुन् । प्रदेशभरका महिलाहरूलाई फुटबल, शिक्षा र स्वास्थ्यको क्षेत्रबाट अघि बढ्न प्रेरित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताइन् ।
ठकुरीका अनुसार कर्णालीका ग्रामीण भेगका महिलाहरू अहिले पनि घरायसी कामको जिम्मेवारीमै सीमित छन् । मेलापात, पाटीपौवा, पँधेरा र बालबालिकाको भरण पोषणसमेत गर्ने उनीहरू घरेलु हिंसाको चपेटामा पनि पर्दै आएका छन् । बिहान उठ्ने बित्तिकै स्याउला, सोतर, खेतीपाती, गोडमेल, घरधन्दामै उनीहरूको दैनिकी बित्ने गरेको छ ।
‘गाउँमा अहिले पनि यातायातको सुविधा छैन । अस्पताल छैन । राम्रो विद्यालय छैन । यसबाट महिला धेरै पीडित छन् । अर्काको घर जाने जातलाई पढाएर फाइदा छैन भन्ने सोचाइ छ,’ उनले भनिन्, ‘छोरीहरू कलिलो उमेरमा बिहे गरेर अर्काको घरमा जानुपर्ने अवस्था छ । म पनि त्यसबाट गुज्रिएर आएँ । यस्तो अवस्था अन्त्य गर्ने हाम्रो लक्ष्य हो । तर अवसर पाए भने महिलाले जे पनि गर्न सक्छन् ।’
अहिले हर्किँदै गरेका छोरीहरूले यस्तो भोग्न नपरोस् भनेर संस्था स्थापना गरेको उनले सुनाइन् । त्यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने संस्थाको योजना रहेको छ ।