लन्डन । तमु प्ये ल्हु संघ यूकेको कल्याणकारी रात्रिभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार १९ अप्रिल २०२५ मा रेडिङस्थित आफ्नै भवनमा संघका अध्यक्ष क्या. डेमबहादुर योज तमुको सभापतित्वमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी तमुको प्रमुख आतिथ्यता र तमु समाज यूकेकी अध्यक्ष बिन्दु तमु घलेको विशेष आतिथ्यता संघले हालै खरिद गरेको सामुदायिक भवन मर्मत-सम्भार तथा थप संरचना निर्माण सहयोगार्थ कार्यक्रम आयोजना गरिएको हो ।
प्रारम्भिक सूचना अनुसार सामुदायिक भवन मर्मत-सम्भार तथा थप संरचना निर्माण सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा ३५ हजार पाउन्डभन्दा बढी चन्दा संकलन भएको छ ।

औपचारिक कार्यक्रम संघका अध्यक्ष क्या डेम बहादुरसहित प्रमुख अतिथि जुमकाजी, विशेष अतिथि बिन्दु, संस्थापक अध्यक्ष अशोक ल्हेँगे तमु, आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमु र खेगी अध्यक्ष जीत क्रोम्छे तमुले संयुक्तरुपमा समुद्घाटन गरेका थिए ।
सचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेको कार्यक्रममा मौलिक तमु भेषभूषा संरक्षणका लागि गत वर्षदेखि सुरु गरिएको चेयरम्यान कप दम्पती भेषभूषा प्रतियोगिता समावेश थियो । प्रतियोगितामा डम्बर टु क्ल्हेप्री तमुको जोडी प्रथम र भेग च्हाक्ली तमुको जोडी द्वितीय भएका थिए ।
तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष सिरीप्रसाद च्हाक्ली तमु, नौथुम तमु समाज यूकेका अध्यक्ष खमबहादुर ल्होँ तमु र पैंयुखोला तमु समाज यूकेका पूर्वअध्यक्ष क्या नरबहादुर पर्जु तमु एमभीओ, बिईएमले निर्णायकको भूमिका निभाएका थिए ।
त्यसैगरी संघलाई दिएको विशेष योगदानको मूल्यांकन गर्दै संघका पूर्वअध्यक्ष सोम त्होर्जे तमुलाई संघको 'प्रज्वल रथी सम्मान-२०२५' प्रदान गरिएको थियो । यस्तै नेपालबाट आएका कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश तमु, कलाकारहरु प्रवित्रा तमु,सविना तमु र तिलक तमुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानको क्रममा प्रमुख अतिथि जुमकाजी तमुको दम्पती र भवनको स्टेजको ब्याकड्रबमा क्होंईबो सहितको आकर्षक हिमाली दृश्य पेन्ट गरी सहयोग गरेका आर्टिस्ट देव क्रोम्छै तमु र उनकी धर्मपत्नी डा. युग च्हम्रु तमुलाई विशेष सम्मान गरिएको थियो ।
पवित्र तमु, सविना तमु र तिलक तमुको विभिन्न मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा बेलायतमा क्रियाशील विभिन्न प्रतिष्ठित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

