गोरखाको सिम्जुङ पात्लेमा जन्मिनुभएकी गायिका बिमला गुरुङ उदीयमान गायिका हुनुहुन्छ । गाउँमै प्लस टू गरेर काठमाडौंमा आउनुभएकी उहाँ ६/७ वर्षदेखि संगीतमा संघर्ष गरिरहनुभएको छ । गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा बेलायत आउनुभएकी बिमला यहाँ साढे ४ महिनादेखि विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिइरहनुभएको छ । उहाँ विशेषत: आधुनिक, कौडा गीत, झ्याउरे र गुरुङ गीतहरु अनि लोक तथा दोहोरी गीत गाउनु हुन्छ । गायिका तथा मोडल बिमला गुरुङसँग बेलायत बसाइ र सांगीतिक यात्राबारे गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानीको सम्पादित अंश :
तपाईं बेलायत आउनुभएको कति महिना पुग्यो ?
म गुरुङहरुको चाड तमु ल्होछारका लागि गत डिसेम्बर २०२४ मा बेलायत आएकी हुँ ।
कुन संस्थाको निमन्त्रणामा यहाँ आउनुभएको हो ?
म गोर्खा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा यहाँ आएकी हुँ ।
यूके भ्रमण कति औं पटक हो तपाईंको ?
यूकेमा म पहिलो पटक आएकी हुँ ।
बेलायत बसाइ कस्तो भइरहेको छ ?
एकदमै रमाइलो र राम्रो बसाइ भइरहेको छ । साह्रो, गाह्रो केही छैन ।
कार्यक्रमहरु कत्तिको पाइरहनुभएको छ ?
कार्यक्रम राम्रै भइरहेको छ ।
स्वदेश र विदेशमा कलाकारले पाउने माया कस्तो पाउनुभयो ?
धेरै फरक छ । नेपालमा धेरै जना कलाकारहरु हुनुहुन्छ । कार्यक्रमहरुमा छ्यापछ्याप्ती देखिरहेका हुन्छन् । माया त गरिन्छ तर विदेशमा जस्तो हुँदैन । तर यहाँ (बेलायत)मा चाहिँ कलाकार देशको गहना भनेर एकदमै माया गर्नुहुँदोरहेछ । विदेश आएर पनि विदेश आएजस्तो फिल नहुँदोरहेछ । सात समुद्र पार गरेर आएपछि नचिनेकाहरु पनि नचिने झैं कहिले पनि भएन । सबैले आफ्नै छोरी, आफ्नै भान्जी, आफ्नै बहिनीजस्तो मानेर एकदमै माया गर्नु हुँदोरहेछ । एकदमै खुसी लाग्यो । मैले यो माया बटुल्न पाउनु नै मेरा लागि एकदमै ठूलो कुरा हो । यसका लागि गोरखा जिल्ला गुरुङ समाजका अध्यक्ष आदरणीय काका टेकमान गुरुङलगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो अवसर दिनु भएकोमा ।
तपाईं बेलायतबाहेक अन्य कुन कुन देश जानुभयो ?
मेरो पहिलो भ्रमण नै बेलायत हो ।
नेपालमा म्युजिककै फिल्डमा मात्रै हो ?
संगीत कक्षा लिने, नाइट ड्युटी गर्थें ।
क्लबमा कि दोहोरी साँझमा ?
पहिलेचाहिँ दोहोरी साँझमा गाउँथें । साढे दुई वर्षजति गामबेंसी दोहोरीमा काम गरेँ मैले । भ्वाइस अफ नेपालमा जानुभन्दा अगाडि । अहिलेचाहिँ दरबारमार्गको कासा लन्च एन्ड बारमा गाउँछु ।
भ्वाइस अफ नेपालको कुन सिजनमा सहभागी हुनुभयो ?
म भ्वाइस अफ नेपालको सिजन ५ मा सहभागी भएँ । म नकआउट राउन्डमा पुगेँ ।
भ्वाइस अफ नेपालको केही अनुभव सुनाइदिनुस् न ?
धेरै अनुभव बटुलेँ । केही पनि नजानेको मान्छे, त्यहाँ गएर धेरै कुरा सिक्न पाएँ । धेरै म्युजिसियन दाजुहरुसँग धेरै विषय सिक्न पाएँ । नजानेका कुरा उहाँहरुले सिकाउनुभयो । त्यहाँ जानुभन्दा अगाडि मलाई चिन्दैनथ्यो । काम घर, काम घरमात्रै थियो । भ्वाइस अफ नेपालमा गएपछि धेरै जनाले चिन्ने मौका पनि पाउनुभयो । मैले पनि चिनाउने मौका पाएँ । मैले थुप्रै गीतहरु पनि गरेँ । कार्यक्रमहरुमा पनि गएँ । जसले धेरै राम्रो भयो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ।
म यूकेमा रहँदा जति पनि दर्शकहरुले, आमाबुबा, मामामाइजु, काकाकाकी सबै जनाले एकदमै माया गरिदिनु भएको छ । त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । मलाई नेपाल गएपछि पनि माया राखिदिनु होला । साथ सपोर्ट गरिराख्नु होला । म अझै पनि तपाईंहरुमाझ राम्रा राम्रा गीत लिएर आउने नै छु । आफ्नै छोरीसरह गर्नुभएर एकदमै टेककियर गर्नु हुने दिनेश गुरुङ काका धेरै धेरे धन्यवाद । त्यस्तै गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ काका र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।