लन्डन । ईलम पोखरी समाज यूकेको ल्होछार पार्टी भव्य रुपमा सम्पन्न भएको छ ।
अल्डरसटमा शनिबार १७ डिसेम्बर २०२२ का दिन ल्होछार पार्टी भव्यताका साथ सम्पन्न गरिएको हो । समाजका अध्यक्ष परशु गुरुङको अध्यक्षतामा लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यसअवसरमा लमजुङ समाज यूकेका अध्यक्षकी धर्मपत्नी आमा समूहकी उपाध्यक्ष गुरुङ, नेपालबाट आएकी चर्चित गायिका रूपा घर्तीमगरको पनि उपस्थिति थियो ।
प्रमुख अतिथि दलबहादुर गुरुङ र श्रीमती तारा गुरुङलाई प्रवेशद्वारमा अध्यक्ष परशु गुरुङ र श्रीमती नन्दा गुरुङले स्वागत गरेका थिए । कार्यक्रम उद्घोषक सचिव प्रकाश गुरुङ थिए । औपचारिक कार्यक्रममा सहसचिव कुमार गुरुङले सुरक्षासम्बन्धी जानकारी गराई सचिवले कार्यक्रम अगाडि बढ़ाएका थिए ।
कार्यक्रम सभापति तथा समाजका अध्यक्ष, प्रमुख अतिथि, संस्थापक अध्यक्ष निवर्तमान अध्यक्षबाट पानसमा दीपप्रज्ज्वलन गरी शुभारम्भ गरिएको थियो भने लगत्तै नेपाल तथा बेलायतको राष्ट्रिया गान बजाइएको थियो । कार्यक्रममा उपाध्यक्ष बुद्धिराम गुरुङले स्वागत मन्तव्य राखेका थिए । समाजमा भर्खर जोडिएका सदस्यहरुलाई अध्यक्षबाट खादा लगाई स्वागत र सम्मान गरियो भने यसै वर्ष GCSE उत्तीर्ण गरेका नानीहरु र विभिन्न विषयमा उच्च शिक्षा हासिल गरेका नानीहरुलाई अध्यक्ष र प्रमुख अतिथिबाट खादा र प्रशंसापत्र दिई बधाई ज्ञापन गरिएको थियो ।
गत नोभेम्बर १२ तारिखको अधिवेशनमा निर्वाचित भएका ११औं कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुलाई परिचय गराउॅंदै अध्यक्षबाट खादा लगाई बधाई दिइएको थियो । ईलमपोखरी समाजको हरेक कार्यक्रममा सुरूका दिनदेखि नै सहयोग र ठूलो योगदान पुऱ्याइरहेका चेलीज्वाइँ लमजुङ समाज यूकेका पूर्वअध्यक्ष बोहत गुरुङ र श्रीमती लक्ष्मी गुरुङलाई समाजको मानार्थ सदस्यमा अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष मोहनसिंग गुरुङ, निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ, प्रमुख अतिथि लमजुङ समाजका अध्यक्ष दलबहादुर गुरुङले मन्तव्य राखेका थिए ।
अन्तमा सभापति तथा अध्यक्ष परशु गुरुङले आफ्नो मन्तव्यको क्रममा सबै जनालाई धन्यवाद दिई औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।
सांस्कृतिक कार्यक्रमको संयोजक सांस्कृतिक सहसचिव मोतीप्रसाद गुरुङले गरेका थिए भने सहसचिव कुमार गुरुङ र सविता गुरुङले संचालन गरेका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकार रूपा घर्तीमगर साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । आफ्नो परम्परा रीतिरिवाजलाई संरक्षण राख्ने मात्र नभई समाजले अन्य कार्यक्रमतिर पनि धेरै पटक प्रस्तुत गरेको सोरठी (कृष्ण चरित्र) नाच पनि प्रस्तुत गरिएयो ।
संस्थापक अध्यक्ष मोहनसिङ गुरुङको संयोजकत्वमा भएको भाग्योदय चिट्ठामा विभिन्न व्यवसायी र समाजभित्रका महानुभावहरूले प्रायोजन गरेका थिए । जसमा १० वटा अति आकर्षक पुरस्कार थिए भने प्रथम पुरस्कार १ तोला सुन राखिएको थियो ।
मोहनसिङ गुरुङ (संस्थापक अध्यक्ष) को नेतृत्वमा बेलायतमा २००९ सालमा ईलम पोखरी समाजको स्थापना भएको हो । समाजको मोहनसिंग गुरुङ, पूर्णराज गुरुङले दुई कार्यकाल नेतृत्व गरिसकेका छन् भने वर्तमान अध्यक्षले एक कार्यकाल पूरा गरी गत नोभेम्बर १२ बाट दोस्रो कार्यकाल अर्थात् छैटौं कार्यसमितिको नेतृत्व गर्दैछन् । वर्तमान कार्यसमितिमा २९ जना सदस्यहरु आबद्ध छन् भने १६ जना सल्लाहकारहरु छन् ।
स्थापनाकालदेखि नै नै यस समाजले यूकेका विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । विभिन्न कार्यक्रमहरुमा सहभागी भई आफ्ना मौलिक नृत्यहरु प्रस्तुत गर्दै आएको छ । नेपालमा सुरुका दिनदेखि नै विभिन्न दैवीप्रकोपबाट पीडित र विस्थापित भएका स्थानीय बासिन्दाहरुलाई विभिन्न स्रोतबाट सहयोग गर्दै आइरहेका छन् । धार्मिक सम्पदाहरुको संवर्द्धन र संरक्षणमा उत्तिकै सहयोग पुऱ्याउँदै आइरहेका छन् ।