नयाँ वर्ष तिमीलाई म
परदेशबाट सम्झिरहेछु,
साथै
देश विदेशमा छरिएर रहनुभएका
सम्पूर्ण नेपाली मनहरूलाई पनि
सम्झिरहेछु,
अनि
सबैलाई एकमुष्ट
नयाँ वर्षको शुभकामना
भन्दै छु !
आजकल त
तिम्रो र मेरो सम्बन्ध
अलि बिरानो भएको छ,
किनकि
परिस्थितिले परदेशी बनेको म
दिनहुँ
आइतबार/ सोमबारको सट्टा
सन्डे/ मन्डेको
रटान लाउँछु,
प्रत्येक महिना
वैशाख/ जेठको सट्टा
जनवरी/ फेब्रुअरीको
तलब थाप्छु,
वैशाख १ लाई
कताकता बिर्सेर
जनवरी १ लाई पो
ह्यापी न्यु इयर
भन्न पुग्छु !
तैपनि
पुराना स्मृतिहरू
मानसपटलमा ताजै छन्,
सायद
३/४ कक्षा पढ्दा
भर्खर तङ्ग्रिएको अक्षरले
हिरो हिरोइनको पोस्टकार्ड
पछाडिको सेतो भागमा
इन्द्रधनुष आकारमा
नयाँ वर्ष २०८२ को
मंगलमय शुभकामना भनी
केटी साथीलाई
अर्को केटी साथीलाई
हुलाकी बनाई
कार्ड सुम्पेको पल,
साथीहरू जम्मा भई
चामल,भट्टमास, गुन्द्रुक
कर्कलो, घिउ, नुन
जम्मा पारी
खोलाको छेउमा चेपगाडा मार्दै
पिकनिक खाएको पल,
अहिले यो उमेरमा
परदेशी भूमिबाट सम्झी ल्याउँदा
मन ढक्क फुल्छ
आँखा एकोहोरो टोलाउँछ
पाइला टक्क अडिन्छ !
अन्तमा
मेरो अनि हामी सबैको
एउटा सपना छ,
एक दिन
उही पुराना चिचिला साथीहरू
उही परिवेशमा
उही भावनाका साथमा
नयाँ सालको दिन,
हर्ष उल्लासका साथमा
नयाँ वर्षको शुभकामना भन्दै
नयाँ मोडलका पोस्टकार्डहरू
ग्रेटिङ कार्डहरू/उपहारहरू
फूलहरू साटासाट गर्दै,
पुरानो मित्रता अनि मायालाई
पुनर्ताजगी बनाउँदै
नयाँ वर्ष मनाउने छौ !
पुनः
नयाँ वर्षको शुभकामना सबैलाई !