अल्डरसट। भेटेरन क्यान च्यारिटी संस्थाले डेम जोना लम्ली र विशेष व्यक्तिहरूको उपस्थितिमा अल्डरसटस्थित प्रिन्सेस गार्डन र प्रिन्सेस हलमा गत मार्च २७ तारिख भव्य कार्यक्रम गरेको छ ।
कार्यक्रम संयोजक भेट्रेन क्यानका सह संस्थापक ग्यारेथ विलियम्सले आफ्नो संस्थाले गर्न लागेको कामबारे प्रस्ट पारेका थिए । अफगानिस्तानको लडाइँमा ४५७ जना ब्रिटिस सेनाले ज्यान गुमाएको दुःखलाग्दो इतिहासलाई अफगान भेट्रेन केभ विलिसले सबैको पोट्रेट बनाएर दिवंगत परिवारका सदस्य, रेजिमेन्ट र कतिको म्युजियममा राख्ने काम सुरु गरेकोमा भेट्रेन क्यानले साथ सहयोग गरिरहेको बताए ।

त्यस लडाइँमा १५ जना गोर्खा सेनाले ज्यान गुमाएका थिए। तिनै गोर्खा सेनाको पोट्रेट लिएर केभ विलिस, फोटोग्राफर क्रिस जेल्फ र हरि बुढा मगर एमबीई नेपाल गई पोखरामा अवस्थित गोर्खा मेमोरियल म्युजियमलाई सबै परिवारको उपस्थितिमा हस्तान्तरण गर्ने योजना रहेको बताए ।
पहिलो भीसी कुलवीर थापा मगरको मूर्ति सामुन्ने कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै भिसी थापाबारे आयोजक विलियम्सले चर्चा गरेका थिए ।
भीसी थापाको मूर्तिमा फूल चढाउने क्रममा रशमोर बरो काउन्सिलका मेयर मारा मकुनुरा, डेम जोना लम्ली, ब्रिगेड अफ गोर्खाजबाट कर्णेल डेभिड रबिन्सन, अल्डरसट ग्यारिजनका रेप, भेट्रेन क्यानका ग्रेहम र बिजिडब्लुएसका अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जेपी र पीआर प्रकाश गुरुङ थिए ।

पाद्रे र पण्डित दुवैले सँगै छोटो मन्त्र सुनाएपछि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाजबाट आएका ओसी जीएसपीएस मेजर नरेन्द्र गुरुङले १५ जना वीरगति पाएका गोर्खा सेनाहरूको नाम पढेका थिए । मेजर जोस बोमेन, मेजर एलेक्सिस रोबर्टस, ले. निल टरकिङटन, ले. ऐडवर्ड ड्रुमोनडब्याक्सटर, कलरसार्जेन्ट कृष्णबहादुर दुरा, कर्पोल आर्जुन पुर्जा पुन, कर्पोल कुमार पुन, लान्सकर्पोल गजबहादुर गुरुङ, लान्सकर्पोल सिद्धान्त कनवर, राइफलमेन सचिन लिम्बू, राइफलमेन विजय राई, राइफलमेन सुरज गुरुङ, सेपर इश्वर गुरुङ, राइफलमेन रेमन्ड कुलुङ र राइफलमेन युराज राईले बीरगति प्राप्त गरेका थिए । उनीहरूको नाममा मौनधारण गरेर सबै जना रिफ्रेस्मेन्टका लागि प्रिन्सेसहल तिर लागेका थिए ।
हलको लबीमा बोल्दै डेम लम्लीले आफू ६ गोर्खाको छोरी भएको बताइन् । ‘म ६ गोर्खाको छोरी हुँ । मेरो सिक्रेट भन्छु । मेरो कोटमा ब्रिगेडको खुकुरी ब्याज छ । भित्र ६ गोर्खाको किनकि मेरो बाबा ६ गोर्खामा लामो सेवा गर्नुभयो । सुन्दर शहर अल्डरसटमा मेयरले स्वागत गर्नुभएकोमा खुसी व्यक्त गर्दछु । आर्टले मलाई सधैँ छुन्छ । म सधैँ पेन्ट कलेक्सन गर्छु,’ उनले भनिन्, ‘जति पनि अफगान युद्धमा ज्यान गुमाएका हिरोहरूको फोटो फ्रेम बनेको छ । साह्रै नै राम्रो काम हो। जब मैले भीसीको मूर्तिमा फूल चढाउँदै गर्दा प्रत्येक फोटोहरूबारे याद गरे । कति परिवारलाई दिइसकेको छ भने मे महिनामा गोर्खाहरूको नेपाल लगिँदै छ।’
-1743171788.jpg)
यसले दुई देशबीचको सम्बन्ध सधैँ दिगो राख्नेसमेत उनको भनाइ थियो । कार्यक्रममा ब्रिगेड अफ गोर्खाजका एसओटू पर्सनल एन्ड पोलिसीका मेजर डमर शाही, क्यूओजीएलएरका गोर्खा मेजर भीम सिरिश, स्कोप्टोर एमी गुडमेन, अल्डरसट ग्यारिजनका सिनियर अफिसर र सिभिल सर्भेन्ट तथा केही नेपाली समाजका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । आयोजक विलियम्सले कार्यक्रम सफल बनाइदिएकोमा सबैलाई धन्यवाद दिए ।