लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) वेलफेयर अफ गोर्खा टाक्सफोर्सका अध्यक्ष बेलायतवासी ह.ले.चन्द्र गुरुङले नेतृत्वका कारण संस्थाको औचित्यमाथि नै प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।
एनआरएनएलाई एकताबद्ध पार्न नेतृत्वले कुनै लचकता नदेखाउनु, कुनै समाधान नखोजिनु,समस्याबाट पन्छिन खोज्नुले गैरआवासीय नेपालीहरु अलमलमा परेको उल्लेख गर्दै उनले विभाजित एनआरएनएले समृद्ध नेपाल र विदेशमा बस्ने नेपालीहरुको हकहितका लागि काम गर्छ भन्ने विश्वाससमेत गुमाउँदै गएको बताएका छन् ।
'संस्थाका शीर्ष नेताहरु ज-जसलाई गैर आवासीया नेपालीहरुले अभिभावकहरुको रुपमा सम्मान गरिरहेका छ्न्, उहाँहरु नै मेरो गोरुको बाह्रै टक्का भनेर हठ नछोड्नु, कुनै लचकता नदेखाउनु, कुनै समाधान नखोजिनु, संस्थालाई समस्या पर्दा समस्याबाट पन्छिन खोज्नुले गैर आवासीय नेपालीहरु अलमल्ल परेका छन्,' गुरुङले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्,'अब यो संस्थाको औचित्यमाथि नै प्रश्न खडा भएको छ । यस्ता विभाजित एनआरएनएले समृद्ध नेपाल र विदेशमा बस्ने नेपालीहरुको हकहितका लागि केही गर्न सक्छ भन्ने विश्वास पनि त्यत्ति रहेन ।'
विवादित संस्थामा स्वच्छ भावनाका साथ समाजसेवा गर्छु भन्नेहरुलाई पनि निरुत्साहित बनाएको अध्यक्ष गुरुङले बताए ।
'एनआरएनको समस्या एनआरएनले नै मिलाउनु पर्छ। विदेशमा बस्ने नेपालीहरुको झगडा अदालत र सरकारले मिलाइदेला भन्न पनि सकिएन, विवाद झन् चर्कियो । समस्या यति सारो गिजोल्टियो कि न यसलाई राजनैतिक संस्था भन्न मिल्छ न नै कल्याणकारी संस्था,'उनले अगाडि लेखेका छन्,'दु:खका साथ भन्नु पर्दा एनआरएनमा जजसले आफूलाई नेता भनेर हिँडेका छन् उनीहरुमै इमान्दारिता, नैतिकता र विश्वसनीयता भएन । चुनावमा हार स्वीकार गर्न नसक्ने, राजनीतिक पार्टीलाई ढोग्न पुग्ने, व्यक्तिगत स्वार्थ, सिद्धान्तविहीनताका कारण संस्था यो अवस्थामा आएको सबैले बुझेका छन् ।'