लन्डन । घान्द्रुक समाज यूकेको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । २२ मार्चमा अल्डरसटस्थित अम्पायर हलमा गाउँलेहरूको बाक्लो उपस्थिति माझ सभा सम्पन्न भएको हो ।
घान्द्रुक समाजका अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षता र नेपालबाट भ्रमण भिसामा यूके आएका घान्द्रुकका लामा गुरु उर्ग्येन् लोपेन रिम्पोचे गुप्ति गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । महासचिव नरकाजी गुरुङले सभा सञ्चालन गरेका थिए ।

उपस्थित सदस्यलाई विधिवत् रूपमा आसन ग्रहण गराएपछि समाजका अध्यक्ष र संस्थापक अध्यक्ष रि. मे. उदय बहादुर गुरुङ एमबीईले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभाराम्भ गरेका थिए । सुरुमा समाजले यस वर्ष गुमाएका सदस्यको नाममा एक मिनेट मौन धारण गरेका थिए । लामा गुरुलाई अध्यक्ष दम्पतीले खादा र फूल लगाएर स्वागत तथा सम्मान गरे । पहिलो उपाध्यक्ष रोशन गुरुङले स्वागत मन्तव्य र अध्यक्षले कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए ।
महासचिवले समाजका यस वर्षका गतिविधि समेटेर तयार पारिएको प्रतिवेदन तथा कोषाध्यक्ष देव सिंह गुरुङले आयव्यय विवरण प्रस्तुत गरे । तमु भाषा र खेलकुदसम्बन्धी प्रतिवेदन स्पोर्ट्स संयोजक याम गुरुङको अनुपस्थितिमा अध्यक्ष स्वयंले पढेर सुनाएका थिए । समाजको समानान्तर रूपमा रहेका आमा समूहको प्रगति विवरण सचिव रजनी गुरुङले प्रस्तुत गरिन् । आयव्यय प्रतिवेदन कोषाध्यक्ष ऐश्वरी गुरुङ (शर्मिला गुरुङ) ले प्रस्तुत गरिन् ।

आमा समूहले मूल समितिको सहयोगीका रूपमा खेलेको भूमिका र बेलाबखत दुःखमा परेकाहरूलाई सहयोग गर्ने काममा आमाहरूले गरेको होस्टेमा हैँसे गरेर साथ दिने सबैलाई आमा अध्यक्ष प्रथम महिला हीरादेवी गुरुङले धन्यवाद दिइन् । निवर्तमान अध्यक्ष नारायण सिंह गुरुङले समाजको आर्थिक पक्षलाई लिएर भइरहेको गतिविधिबारे प्रकाश पारे ।
समाजले आउँदै गरेको गोर्खा कप, नेपाली मेलामा भाग लिने वा नलिने, लिने भएमा कसरी लिने, घान्द्रुक वार्षिक भेला (पार्टी) कसरी मनाउने र अन्य थुप्रै समसामयिक गतिविधिहरूमा गहन छलफल गर्दै आवश्यक निर्णय गरेको निवर्तमान अध्यक्ष तथा सल्लाहकार नारायण सिंह गुरुङले जानकारी दिए । अतिथि लामा गुरुको घान्द्रुकमा बन्न गइरहेको बौद्ध गुम्बा, बौद्ध, पाठशाला, संग्रहालय, ध्यान केन्द्रको गुरु योजनाबारेमा आर्थिक सहयोगको उद्देश्य राखी स्पष्ट पारिएको थियो ।

पूर्वअध्यक्षहरू अर्जुन गुरुङ, ई. खेमबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ र वर्तमान अध्यक्षले संक्षिप्तमा आफ्नो मन्तव्य राखेर दिउँसो ४:३० तिर कार्यक्रम समापन भएको थियो । अध्यक्षले सबैलाई धन्यवाद दिएका थिए । समापनपछि अम्पायरको क्याटरिङको स्वादिष्ट भोजनको स्वाद लिँदै सबैजना छुटेका थिए ।