बेलायतमा च्यारिटी संस्थामा दर्ता रहेको ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आउँदो १२ अप्रिलमा नेपाली नयाँ वर्ष-२०२५ मनाउँदै छ । सन् २००३ देखि नै ख्यातिप्राप्त कलाकारका साथ नयाँ वर्ष मनाउने परम्परा सुरु गरेको जीआरएनसीले यस वर्ष कार्यक्रम विशेष रहने बताएको छ । नयाँ वर्ष कार्यक्रमको तयारी र आकर्षणबारे अध्यक्ष मान गुरुङसँग गोर्खा मिडियाको 'हिँड्दा हिँड्दै शृंखला'मा मिलन तमुले गर्नुभएको कुराकानी :
जीआरएनसीले नेपाली नयाँ वर्ष २०८२ कसरी मनाउने तयारी गरेको छ ?
नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक विविधतायु्क्त सुन्दर देश हो । यसको साझा मिलनविन्दु नेपाली नयाँ वर्ष नै भएकोले हामीले हरेक वर्ष नयाँ वर्ष मनाउने गर्छौं । यस वर्ष पहिलेभन्दा चुस्तदुरुस्त र एकदमै राम्रो ढंगले नयाँ वर्ष कार्यक्रम मनाउने तयारी छ ।
जीआरएनसीले विगत ९ महिनादेखि नेपाली बालबालिकालाई नृत्य र नेपाली भाषा प्रशिक्षण दिँदै आएको छ । नयाँ वर्ष कार्यक्रममा बालबालिकाको नृत्य र बालगीत आकर्षण रहने छ । जुन बेलायतमा सक्रिय नेपाली संघसंस्थामा विरलै पाइने प्रस्तुति बन्ने हाम्रो विश्वास छ । यस्तै जीआरएनसीको कार्यक्रममा नेपाली मौलिक र आधुनिक गीत प्रस्तुति, पप, लोकदोहोरीदेखि नृत्यका लागि ख्यातिप्राप्त कलाकारहरु नेपालबाट आउनुहुन्छ । कार्यक्रमलाई भव्य बनाउन हामीले भरमग्दुर कोसिस गरिरहेका छौं ।
साथै यहाँका स्थानीय एमपी, मेयर, काउन्सिलर, नेपाली राजदूत, विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि पनि आउनुहुनेछ । विभिन्न पेसा/व्यवसायमा आबद्ध स्थानीय दाजुभाइ, दिदीबहिनीहरु पनि आउनुहुन्छ । जीआरएनसीमै पनि फरक-फरक किसिमका समुदाय आबद्ध छन् । विभिन्न संघसंस्था र पेसा/व्यवसायमा नेतृत्व गरेर आउनुभएका टिम छन् । यो संस्थाको नेतृत्वमा म आएको पनि साढे ३ वर्ष कार्यकाल हुन लागेछ । विगतको अनुभवले यस वर्षको कार्यक्रमलाई राम्रो बनाउन मैले फोकस गरिरहेको छु । कार्यक्रम संयोजक पनि चिरपरिचित र अनुभवी संस्थाका उपाध्यक्ष डा विशाल गुरुङ हुनुहुन्छ । उहाँसहितका टिमले कार्यक्रम तयारीलाई अघि बढाइरहेको छ ।
नयाँ वर्ष कार्यक्रम कहिले र कहाँ हुन्छ ?
जीआरएनसीको नयाँ वर्ष कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा शनिबार १२ अप्रिल २०२५ मा हुँदैछ । समय हामीले बेलुकी ६ बजे तोकेका छौं । उक्त दिन नेपाली नयाँ वर्ष सुरु हुने दिन पनि परेको छ । छुट्टि मिलाउनु हुन र एक दिन आफ्नो देशका लागि दिनुस् भनेर सबै बेलायतवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु । यहाँका नेपाली र नेपालका लागि आइदिएर साथ दिनुभयो भने पनि हामीलाई धेरै आड र खुसी मिल्नेछ । यदि स्वयंसेवा गर्न र केही प्रतिभा छ भने सहभागिता र प्रस्तुतिका लागि हाम्रा कार्यक्रम संयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
कार्यक्रममा प्रवेश शुल्क कति राख्नुभएको छ ?
प्रवेश शुल्क ३० पाउन्ड राखेका छौं । किनकि त्यो हाम्रो च्यारिटी साँझ हो । त्यो रिजनेवल नै लाग्छ, अहिले खानाको भाउ, अन्य विभिन्न सरसामानको पनि भाउ बढेको बेला छ । ३० पाउन्डमा खानाका साथै मनोरन्जन लिने, इस्टमित्रसँग भेटघाट र समुदाय, देशलाई सहयोग पुर्याउन सक्नुहुनेछ ।
कार्यक्रमका अरु आकर्षण के-के छन् ?
हामी राफल ड्र पनि गर्दैछौं । त्यसका लागि संयोजकज्यूले संयोजन गर्दै हुनुहुन्छ । मैले पनि सहयोग गरिरहेको छु । कार्यक्रम संयोजन टिमले अगाडि बढाउँदै छ । नेपालबाट आउने कलाकारको भिसा प्रोसेस पनि अगाडि बढिरहेकोले यसबारे चाहिँ रिजल्ट आएपछि भन्नेछु ।
नेपाली नयाँ वर्ष मनाउनुको अन्य कारण पनि छन् ?
जीआरएनसी च्यारिटी संस्था पनि हो । नयाँ वर्षको उत्सव र केही फन्ड उठेमा हामीले च्यारिटीवल प्रपोजका लागि खर्च गर्नेछौं । त्यस विषयमा कार्यसमिति बसेर कुन-कुन योजनामा खर्च गर्ने वा सहयोग दिने भनेर हामी पछि भन्नेछौं ।
कार्यक्रम विशेष हुने भन्नु भएको छ, कसरी ?
नेपालका चर्चित कोरियोग्राफर शेखर घर्तीमगरले करिब ४ महिनादेखि बालबालिकालाई ट्रेनिङ गराउनुभयो । साथमा बेलायतमै रहनुभएकी अनुभवी कविता घर्तीमगरले पनि प्रशिक्षण दिइरहनुभएको छ । पहिले-पहिले कार्यक्रम हुने बेलामा मात्रै ट्रेनिङ गराउँथ्यौं । यसपटक लामो समयको ट्रेनिङ छ । त्यसले गर्दा प्रस्तुति उत्कृष्ट हुन्छ भन्ने लागिरहेको छ । नानीहरु पनि बोल्न, लेख्न सक्ने भइसकेका छन् । बालगीत नेपाली भाषामा नै गराउने छौं ।
कार्यक्रममा सहभागी हुनेहरुका लागि टिकट र प्रायोजनको व्यवस्था कसरी गराउनुभएको छ ?
केही टिकट मसँगै छ । त्यसैगरी संयोजक डा विशाल गुरुङज्यू, कोषाध्यक्ष श्याम श्रेष्ठज्यूसँग । कल्चरल सेक्रेटरी दिनेश गुरुङ, दिलरास गुरुङ पनि छ । धेरै चाहिएमा कोषाध्यक्षज्यूसँग सम्पर्क गर्न सक्नुहुनेछ । स्पोन्सरका लागि पनि हाम्रो टिमका जोकोहीलाई सम्पर्क गर्नुभए पनि आवश्यक सूचना तथा जानकारी प्रदान गर्नेछौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
यो नेपाली नयाँ वर्ष नेपालको राष्ट्रिय क्यालेन्डर हो । राष्ट्रिय कार्यक्रम हो । त्यसमा तपाईंहरु सबैले नेपाली भनेर गर्व गर्ने कार्यक्रम हो । त्यस दिनलाई टाइम दिन म नेपाली बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु । कार्यक्रमको ५ घण्टा समय दिनु हुँदा तपाईंहरुले त्योभन्दा बढी नै महत्व पाउनुहुनेछ भन्ने मलाई लागेको छ ।
कार्यक्रममा नेपालीबीच एकअर्कामा भलाकुसारी गर्ने, स्थानीय नेताहरु पनि आउने भएकाले उहाँहरुलाई नेपाली भनेको के हो भन्ने पहिचान हामीले दिनुपर्ने हुन्छ । नेपाल कस्तो ठाउँ हो, कस्तो संस्कृति हो भन्ने हामीले देखाउन सकियो भने पनि त्यसको थप महत्व रहनेछ ।
जीआरएनसी पनि पुरानो च्यारिटीबल संस्था भएकोले यसबाट केही सिकेर आफ्नो संस्थामा लागू गर्न पनि सक्नु हुन्छ । त्यसैले कार्यक्रम उपलब्धिमुलक हुने विश्वास छ । कहिल्यै आउनुभएको छैन भने यसपटक आउनु होला । पहिले आइसक्नुभएको भए यसपटक कार्यक्रम विशेष रहनेछ ।
भिडियो