धरान । कथाकार शुभचन्द्र राईको दोस्रो कथाकृति ‘समयले जन्माएका कथाहरू’ सवालर्टन आवाजको प्रतिनिधित्व गरेको समीक्षकले बताएका छन् । बुधबार किरात राई यायोक्खा सुनसरीले धरान–१० स्थित यलम्बर स्मृति भवनमा आयोजना गरेको
कथाकार शुभचन्द्र राईद्वारा लिखित ‘समयले जन्माएका कथाहरू’ लोकार्पण समारोहमा उक्त विचार व्यक्त गरेका हुन् ।
धरान उपमहानगरका पूर्वमेयर तिलक राई, भाषाशास्त्री प्राध्यापक डा. टंकप्रसाद न्यौपाने,समीक्षक तथा नाटककार गोपाल देवान र यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बुधबार आयोजित समारोहमा उक्त कृति लोकार्पण गरेका हुन् ।
‘कथा चोटिला र पोटिला छन्,’ प्राध्यापक न्यौपानेले भने, ‘जीवन छोटो छ,कृतिले अमर तुल्याउँछ । कथाकार शुभचन्द्रको भाषा शैलीमा जनबोली छ । ग्रामीण परिवेश छ । समयले जन्माएको त्यही हो । इमानदारीपूवर्क कथावस्तु पात्रमार्फत् प्रस्तुत गरेका छन् । नाम पनि शुभ काम पनि शुभ छ ।’ समीक्षक गोपाल देवानले धरानमै हुर्के,बढे, पढेका कथाकार राईले यहींको
माटो र जीवनशैलीलाई कथामा उतारेको बताए ।
‘कथाकार शुभचन्द्रको हाम्रो पुस्ता ऊर्वर थियो, धरान कला साहित्यबाट विमुख हुँदै गएको उल्लेख गर्दै देवानले भने, ‘एउटा कालखण्डमा भएको सार्वजनिन विषयलाई कथामा उतारेका छन् । यी कथा समयको लागि हो । कथाहरु सशक्त छन् । उत्तर आधुनिकतावाद अँगालेको छ । भुइँ मान्छे र सबाल्टर्नका आवाज छन् ।’
विचारगत रूपमा पूर्ण सर्थन रहेको उल्लेख गरे । ‘उहाँको समय ८६ कथा शीर्षकले बोलेको छ,’ देवानले भने, ‘परिवेशलाई चित्रण गरेको छ । आख्यानमा घटना चित्रण र पात्र चित्रणमा ए वान छ । घटना शिल्पले बाँधेको छ । नयाँ कथा शिल्पमा रिपोर्ताज जस्तो छ । पुरानो शिल्पमात्रै होइन । चरित्र,पात्र र परिवेश चित्रण छ । स्थानीय स्वाद रहेका छन् । स्थानीय रङ्ग छन् ।
किनार लगाइएका वर्ग, आदिवासीपन छ । सबै कथाले अब्बलता राख्छ । यसमा नारावाद छैन । पात्र चित्रण छ ।’ यसैगरी केन्द्रवादको विनिर्माण भएको उल्लेख गर्दै कथा प्रयोगवादी रहेको चर्चा गरे । आदिवासीवादको प्रयोग भएको औंल्याए ।
प्रमुख अतिथि पूर्वमेयर तिलक राईले कथाकार शुभचन्द्रले २०५०–५१ देखि २०६० आसपासको समयलाई ठेट शैलीमा पात्र र परिवेशलाई कथामा उतारेको बताए ।
‘धरानमा हुर्केर सामाजिक, राजनीतिक, सांस्कृतिक, प्रशासनिक क्षेत्रमा आवद्ध एक भावुक युवा शुभचन्द्र राई बल्ल कथासंग्रहमार्फत् आफ्नो विरासत कायम गरेका छन्,’ राई भने, ‘उनका ठेट शब्दहरू आजका जनप्रतिनिधिले सापटी
लिएजस्तो लाग्छ ।’
कथाकार राईले पंचायतकालको अन्त्य, प्रजातन्त्रकालको उदय, जनयुद्ध र गणतन्त्रकालको प्रवेश विन्दुसम्म आइपुग्दा नेपाली जनजीवनका यथार्थलाई कथामार्फत् उजागर गरेको बताए । पत्रकार तथा लेखक गणेश राईले कथाकार शुभचन्द्र राई एक गीतकार, नियात्राकार, विश्लेषक, संस्कृतिकर्मी भएको बताए । वाम्बुले राई मातृभाषाका स्रष्टा शुभचन्द्र राईको यसअघि वाम्बुले
भाषामा ‘ल्आकाचिम सारिङ्मो’ (रातो भाले) कथासंग्रह र वाम्बुले भाषामा संयुक्त कविता संग्रह प्रकाशित रहेका छन् ।
कथाकार राई चार वर्षयता बेलायतमा बसोबास गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १२:२८