लन्डन । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको आयोजनामा चौथो रोधीं साँझ २०२५ एवं दशौँ वार्षिकोत्सव सम्पन्न भएको छ । १५ मार्चमा अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुमा महासचिव सुशील गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराइएर कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा गुरुङ राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । अध्यक्ष पदमराज गुरुङले रोधींको महत्व, उत्पत्ति तथा सुरुआतबारे र संस्थापक अध्यक्ष सूर्य गुरुङले संस्थाका बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष पदमराज गुरुङ, संस्थापक अध्यक्ष सूर्य गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी अध्यक्ष गुरुङ, तमु समाज यूकेका अध्यक्ष विन्दु घले, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, तमु प्ये ल्हु संघका कार्यवाहक अध्यक्ष डम्मर गुरुङ र प्रमुख सल्लाहकार एकेन्द्र गुरुङले दिप प्रज्वलन गरेका थिए । त्यसपछि दशौँ वार्षिकोत्सवका अवसरमा केक काटेर सेलिब्रेसन गरिएको थियो ।
तमु समाज यूकेका अध्यक्ष विन्दु घले, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष डम्मर गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसपछि धमकेदार सांस्कृतिक कार्यक्रम भएको थियो । चर्चित लोक तथा दोहोरी गायिका विमला गुरुङ सविना गुरुङ, शीतल गुरुङ, हरिमाया गुरुङ, निता गुरुङ, ममता गुरुङ, तिलक गुरुङ, चन्द्र गुरुङ र अन्य थुप्रै चर्चित कलाकारहरूले प्रस्तुति दिएका थिए । लमजुङ समाजले सोरठी नाच प्रस्तुत गरेको थियो । हरेक प्रस्तुतिमा सहभागीहरूले मनोरञ्जन लिएका थिए ।

अन्त्यमा मञ्चका अध्यक्ष अध्यक्ष पदम गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए । तमु कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले यूकेमा स्थापना गरिएको मञ्चले हरेक दुई वर्षमा रोधीं साँझ गर्दै आएको छ ।

