हङकङ । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले महिला सशक्तीकरणको नारालाई व्यवहारमा उतार्ने बेला आएको बताएकी छन् ।
गैरआवासीय नेपाली संघ हङकङ महिला विभाग र नेपाली महिला संघ हङकङले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमाआयोजना गरेको कार्यक्रममा बोल्दै उनले नारा लगाएर मात्रै महिला सशक्तीकरण नहुने बताएकी हुन् । आफ्नो क्षेत्रबाट महिला सशक्तीकरणका लागि पैरवी गरिरहेको र महिलाहरूको शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण अवसरको समान बाँडफाँट सुनिश्चित गर्न प्रयासरत उनको भनाइ छ ।
‘तर, हामीहरू मात्र सक्रिय भएर पर्याप्त हुँदैन । समाजको प्रत्येक व्यक्तिले नारी सशक्तीकरणलाई प्राथमिकता दिनुपर्छ, देशमा हुने र देशबाहिर हुने सबै जनाले,’ उनले भनिन् ।

अझै पनि धेरै ठाउँमा महिलाहरू विभेद, असमानता, हिंसा र अवसरमा अभावको सामना गरिरहेको सांसद गुरुङको भनाइ छ । प्रवासी भूमिमा कार्यरत, व्यवसाय सञ्चालन गरिरहेका, समाजसेवामा समर्पित महिलाहरूले नेपाली पहिचानलाई उच्च बनाएको उनले बताइन् ।
‘हङकङमा रहेका नेपाली महिलाहरूले शिक्षा, व्यवसाय, रोजगारी, समाजसेवा, र विविध क्षेत्रमा पुर्याएको योगदान अत्यन्त सराहनीय छ,’ उनले भनिन्, ‘आज पनि महिलाहरू चुनौतीहरूसँग जुध्नुपरेको यथार्थ हामीले भुल्न हुँदैन । एनआरएनए जस्ता संस्थाहरूले प्रवासी महिलाहरूको हकहितको पक्षमा अझ सशक्त रूपमा उभिनुपर्छ ।’
कार्यक्रम स्थानीय मङकोकको सभाहलमा भएको थियो । नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासीय नेपाली संघ आईसीसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली मूलका विभिन्न संघ संस्थाहरूको भव्य उपस्थिति थियो ।

महिलामाथि हुने कुनै पनि प्रकारको विभेद र हिंसाविरुद्ध सबैले आवाज उठाउन र कानुनी तथा आर्थिक सशक्तीकरणमा जोड दिन पनि सांसद गुरुङले आग्रह गरेकी छन् ।