लन्डन । तमु प्ये ल्हु संघ यूकेको कल्याणकारी रात्रिभोज तथा आजीवन सदस्य भेटघाट आगामी १९ अप्रिल २०२५ मा हुने भएको छ ।
भवन सम्भार तथा क्होंईबो निर्माण सहयोगार्थ शनिबार १९ अप्रिलमा रेडिङस्थित ह्वाइट्ले वुडलेनमा कार्यक्रम हुन लागेको तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेमबहादुर योज तमुले गोर्खा मिडियालाई जानकारी दिए ।
'यही आउँदो १९ अप्रिल २०२५ शनिबारको दिनमा भवन सम्भार तथा क्होँईबो निर्माण सहयोगार्थ कल्याणकारी रात्रि-भोज तथा आजीवन सदस्य भेटघाट कार्यक्रम हुने सहर्ष जानकारी गराउँदै यहाँहरु सबैको गरिमामय उपस्थितिको लागि हार्दिक विनम्र अनुरोध गर्दछु,' अध्यक्ष क्या तमुले निकालेको सूचनामा लेखिएको छ, 'साथै आफ्नो क्षेत्रको क्षेत्रीय प्रतिनिधि एवं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसँग टिकट उपलब्ध छ । सबैले टिकट लिएर सहयोग गरिदिनु हुन विनम्र निवेदन गर्दछु ।'
कार्यक्रममा राफल ड्रसहित स्थानीय कलाकारहरुको रमाइलो प्रस्तुति रहने जनाइएको छ । दिउँसो ४ बजे हुने कार्यक्रममा प्रवेश शुल्क २५ पाउन्ड तोकिएको छ ।
सूचना उपाध्यक्षहरु, सम्पूर्ण पदाधिकारीहरु, आईसी/एआईसीहरु, क्षेत्रीय प्रतिनिधि, प्रमुख सल्लाहकार एवं सल्लाहकारहरु, खेगी अध्यक्ष तथा खेगीगुरुहरु, आमा समूहकी अध्यक्ष तथा आमा दिदीबहिनीहरुलगायत सम्पूर्ण आजीवन सदस्यहरु तथा शुभचिन्तकहरुलाई पठाइएको छ ।
गत वर्ष तमु प्ये ल्हु संघ यूकेको आजीवन सदस्य भेटघाट तथा कल्याणकारी रात्रिभोज ५ अक्टोबर २०२४ मा एम्पायर हल अल्डरसटमा भएको थियो । संघले परोपकारी कार्यका लागि हरेक वर्ष कल्याणकारी रात्रिभोज आयोजना गर्ने गरेको छ ।