अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सर्वोच्च अदालतको गत २१ चैतको आदेशअनुसार एनआरएनए यूकेको एकता अधिवेशन आयोजना गर्न लागेको छ ।
उच्चस्तरीय समितिले काठमाडौँमा अन्तर्राष्ट्रिय महासभा आयोजना गर्ने घोषणा गरेसँगै एनआरएनए यूके एकता अधिवेशन गर्न लागिएको हो ।
एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्य र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको विशेष आतिथ्यमा अल्डरसटस्थित प्यालेस ब्याङ्क्वेटिङ हलमा कार्यक्रम हुनेछ ।
एकता अधिवेशन नेपाली समुदायका प्रमुख मुद्दाहरू, विशेष गरी वंशजको नेपाली नागरिकताको निरन्तरता र प्रवासी नेपालीहरूले सामना गरिरहेका अन्य ज्वलन्त विषयहरूमा केन्द्रित रहनेछ ।
‘हामी सम्मानपूर्वक एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेलाई प्रमुख अतिथिको रूपमा बेलायतमा स्वागत गर्न चाहन्छौँ । उक्त अधिवेशनमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र उच्चस्तरीय समिति सदस्यहरूको उपस्थिति रहनेछ। उहाँहरूको अनुभव र योगदानले एनआरएनए अभियानको भावी दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ,’ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।
महत्त्वपूर्ण भेलामा व्यापक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न यूकेमा बसोबास गर्ने सबै नेपालीलाई उपस्थित हुन एनआरएनए यूकेले अनुरोध गरेको छ । साथै, व्यक्तिगत तथा संस्थागत रूपमा एनआरएनए यूके महासभाका लागि निःशुल्क नयाँ सदस्यता दर्ता गर्न सकिनेसमेत जनाइएको छ ।
आफूहरू एनआरएनए यूके एकता महासभा २०२५ मा स्वागत गर्न प्रतीक्षारत र एकताबद्ध तथा सशक्त प्रवासी नेपाली समुदाय निर्माणमा सहकार्य गर्न तत्पर रहेको अध्यक्ष गाहा मगरले जनाएका छन् ।