हङकङ । ताङसाङ थाबा काम्बाङ समाज हङकङको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
चर्चित सहर चुनमूनको बटर फ्लाई बीचको प्राङ्गनमा गत ११ डिसेम्बर २०२२ आइतबार भव्यताका साथ काम्बाङ समाजको भेटघाट कार्यक्रम भएको हो । संस्थापक तथा वर्तमान अध्यक्ष राजकुमार काम्बाङको अध्यक्षतामा भएको कार्यक्रम सचिव कैलाश काम्बाङले संचालन गरेका थिए । कुसुम काम्बाङ (गंगा) र सचिव कैलाश काम्बाङ संयमले केही गीत र गायिका मनुता काम्बाङले दुईवटा गीत गाएर मनोरन्जनसमेत गराएका थिए ।
कार्यक्रममा काम्बाङमा चेलीहरूको पनि बाक्लो उपस्थिति थियो । उक्त दिन चर्चित गायिका, मोडेल, रेडियोकर्मी तथा एङ्कर मनुता काम्बाङ र यूकेबाट आएकी गीतकार तथा साहित्यकार जानु काम्बाङको पनि उपस्थिति थियो ।
अन्य देशहरूले जस्तै हङकङ सरकारले पनि कोभिडका कारण केही वर्षयता बाहिर ठूलो जमातमा भेला हुन, बीबीक्यू खानेजस्ता सार्वजानिक स्थानहरू बन्द अथवा त्यहाँ सामाजिक कार्यक्रमहरू गर्न निषेध गरेको थियो | त्यही कारण काम्बाङ समाजले पनि झन्डै तीन वर्षजस्तो वार्षिक भेटघाट कार्यक्रम रोक्नु परेको कुरो उपाध्यक्ष रमेश काम्बाङले बताए |
हालसालै खुलेका हङकङका यी बीबीक्यू स्थानहरू निक्कै भिड हुने गर्छन् अचेल | उक्त आइतबार पनि बटर फ्लाई बीच निक्कै नै भीडमात्र होइन खचाखच नै थियो | एउटा ग्रुपले पोल्दै खाँदै थिए भने अर्को ग्रुपचुला नपाएर चुला पर्खाइमा हुन्थे | गाउँघरको मेला बजारको झल्को दिने उक्त भीडमा हङकङका विभिन्न सहरमा बसोबास गर्ने काम्बाङहरूको पनि भीड ठूलै देखिन्थ्यो |
बीबीक्यू खाइरहेका त्यसदिनका मेलामा भने बिना मास्क मान्छेहरू निर्धक्क घुमिरहेका, खाइरहेका, नाचिरहेका देखिन्थे | नत्र अहिले पनि बाहिर सार्वजनिक स्थानमा मास्क नलाई हिँडेमा हङकङ डलर पाँच हजार जरिवाना तिर्नु पर्नेजस्ता कडा नियमहरू अझै हटाएको छैन सरकारले । संस्थाले दुवै स्रष्टाहरूलाई पुष्पगुच्छा र खादाले सम्मान समेत गरेको थियो | कार्यक्रममा बीबीक्यूसहित चेलीहरूको तर्फबाट हुक्वा (कोसेली) सेलरोटी, चाम्ब्रे, अचार र आलुदमजस्ता भेराइटीहरू थिए |
अध्यक्ष राजकुमार काम्बाङले तीन वर्षको लामो अन्तरालपछि फेरि एकपल्ट हङकङमा बसोबास गर्ने सम्पूर्ण काम्बाङ भानाभान्जा भान्जी, ज्वाइँ चेला, चेलीबेटी र वंशहरूलाई एकै ठाउँमा देख्न पाउँदा निक्कै खुसी भएको कुरो बताए ।
अन्त्यमा अध्यक्ष राजकुमार काम्बाङले त्यहाँ उपस्थित सबै काम्बाङ वंश, छोरीचेली ज्वाइँचेला र भान्जाभान्जीहरूलाई धन्यवाद अनि मीठो कोसेलीसहित माइती भेलामा आउने चेलीहरूलाई माया र उत्तरोत्तर प्रगति उन्नत्तिको कामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।