क्वालालाम्पुर । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न युवाहरुले अन्तर्राष्ट्रिय साझेदारीसहित नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। बस्नेतले जलवायु कार्यमा कुनै अमुक देशको एक्लो प्रयास अपर्याप्त हुने हुनाले साझा प्रयत्न अत्यावश्यक भएको बताए ।
विश्वका असंलग्न देशका युवाहरुको अन्तर्राष्ट्रिय संगठन र मलेसियाली युवा परिषदद्वारा राजधानी क्वालालाम्पुरमा एसियाका १७ देशका प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिएको सम्मेलनमा बोल्दै उपाध्यक्ष बस्नेतले सो धारणा राखेका हुन्। सम्मेलनमा बस्नेतले भने-' असंलग्न आन्दोलनबाट मात्र विश्व सद्भाव र शान्ति सम्भव छ । नेपाल र नेपाली युवा सदैव असंलग्न आन्दोलनमा प्रतिबद्ध छन् र रहिरहनेछन्।'
नयाँ बन्न लागेको राष्ट्रिय युवा नीति र युथ भिजनमा जलवायु कार्य र युवाको भूमिकालाई प्रमुख आधारस्तम्भको रुपमा समेटिन लागिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए। बस्नेतले युवाहरुलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराएमात्र युवाका आवाजले स्थान पाउने दावी गरे।
फेब्रुअरी २३ देखि २६ सम्म चलेको सम्मेलनमा अजरवैजान, बंगलादेश, बेलारुस, कम्बोडिया, फिजी , भारत, इन्डोनेसिया, जोर्डन, मलेसिया , नेपाल, पाकिस्तान , फिलिपिनस, श्रीलंका , थाइल्याण्ड, ओमान, उज्वेकिस्तान र पुर्वी टिमोर सहितका एसियाली युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सन् २०२२ को जुलाईमा अजरवैजानमा आयोजित ६३ वटा असंलग्न देशका प्रतिनिधिहरुको सम्मेलनवाट असंलग्न देशहरुको युवा संगठन स्थापना भएको थियो।