लन्डन । बेलायतमा एसियन महिला एसोसिएसन (आमा)ले आउँदो २ मार्च २०२५ मा नारी दिवस (वुमन्स डे) मनाउने भएको छ ।
फस्ट गोर्खा आमा समूहसँगको सहकार्यमा विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको आमाकी अध्यक्ष कल्पना गुरुङले गोर्खा मिडियालाई जानकारी दिइन् । कार्यक्रम अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा दिउँसो १ देखि ६ बजेसम्म हुनेछ ।
'यसपटक हामी नारी दिवस भव्यतासाथ मनाउँदैछौं । अतिथिहरु रसमुर बरो काउन्सिलका मेयर मारा माकुनुरा, एमबीबीएस डा जित तामाङ,वैज्ञानिक सरुन पुन आउनुहुनेछ,' अध्यक्ष कल्पना गुरुङले सुनाइन्,'डा.तामाङले महिलाका समस्याबारे बोल्नुहुन्छ भने सरुनले आफ्नो यात्राबारे प्रस्तुति दिनुहुनेछ ।'
अध्यक्ष कल्पनाका अनुसार सेलिब्रेटी सुस्मिता र दुर्गा पुनले नृत्य देखाउने छन् भने आकर्षक पुरस्कारसहित राफल ड्र खेलाइनेछ ।
भाग्योदय चिट्ठाका लागि पहिलो पुरस्कार पोते नेक्लेस गोर्खा मेजर्नी विष्णुमाया तामाङले प्रायोजन गरेकी छन् भने लामा ज्वेलर्सले चन्द्रमा दोस्रो पुरस्कार प्रायोजन गरेको छ ।
कार्यक्रमको मुख्य प्रायोजक व्यवसायी मनिकला राईले २ सय पाउन्ड सहयोग गरेको समेत अध्यक्ष गुरुङले जानकारी गराइन् । उनले सबै प्रायोजक र सहयोगीलाई धन्यवाद दिएकी छन् ।
कार्यक्रममा प्रवेश, खाजा/खानासमेत नि:शुल्क रहेको बताउँदै अध्यक्ष कल्पनाले सहभागिताका लागि बेलायतवासी नेपाली समुदायलाई अपिल गरेकी छन् ।
यस्तै फस्ट गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङले दुई संस्था मिलेर नारी दिवसको अवसरमा कार्यक्रम गर्न लागिएकोले सबै बेलायतवासीलाई उपस्थिति भई रमाइलो गर्न आग्रह गरिन् ।

आमाले विभिन्न कार्यक्रम गरी बर्सेनि नारी दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय नारी दिवस अथवा नारी दिवस महिला जागरूकतासम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्र्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।