लन्डन । लन्डनको ह्यारोमा ‘अबको बाटो’ पुस्तकबारे विमर्श गरिएको छ । भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्।
आइतबार, २३ फेब्रुअरीका दिन बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बेलायतमा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गरेका हुन् । कवि तथा लेखकसमेत रहेका राजदूत घिमिरेलाई सो अवसरमा स्वागतसँगै नेपालका विगत, वर्तमान र भविष्यको समीक्षात्मक मूल्यांकनसमेत भएको थियो ।
नेपालले विगतमा गरेका कमजोरी र अबका चुनौतीबारे पुस्तकमा प्रस्तुत विचार गहन रहेको राजदूत घिमिरेले बताए। ‘विभिन्न क्षेत्रका विज्ञबाट नेपालका सम्भावनाबारे तथ्यगत विश्लेषण गरिनु सराहनीय छ,’ घिमिरेले भने। उनले पुस्तक संकलनका लागि सम्पादक श्रेष्ठलाई विशेष धन्यवाद दिए।

लेखक डा. मिलन ज्ञवालीले आफ्नो लेख ‘साना तथा मझौला उद्योगको पारस्परिक अन्तरसम्बन्ध, एक बिजनेस मोडल’ को चर्चा गर्दै नेपालका २७ सफल साना तथा मझौला उद्योगको अनुसन्धानबाट प्राप्त निष्कर्ष प्रस्तुत गरे। त्यस्तै, पूर्वडीएसपी तथा स्तम्भकार शिवजी श्रेष्ठले ‘नेपाल प्रहरी र गृहमन्त्री कस्तो हुनुपर्छ’ विषयमा ऐतिहासिक उदाहरण दिँदै आफ्नो विचार राखेका थिए । उनले सन् १८२२ का बेलायती गृहमन्त्री रोबर्ट पिलको उदाहरण दिँदै नेतृत्व र प्रशासनिक दक्षताको महत्व दर्शाए। ‘हामीले सत्य लेख्न र बोल्न छाड्नु हुँदैन, किनभने सकारात्मक विचारको कुनै न कुनै दिन सुनवाइ हुन्छ,’ श्रेष्ठले जोड दिए ।
साहित्यकार तथा लेखक डा. रूपक श्रेष्ठले पुस्तकको समग्र पक्षको समीक्षा प्रस्तुत गरे । त्यसैगरी, पुस्तकका परिकल्पनाकार एवं संकलक भारत कुमार श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे पत्रकार महासंघ यूकेका महासचिव तथा लेखक खेमराज रानाभाटले चर्चा गरेका थिए ।
कार्यक्रममा लेखक गोपी सापकोटाले राजदूत चन्द्रकुमार घिमिरेले लेखेको ‘डन्ट टच मी ओ कविताहरू’ वाचन गरेर सुनाएका थिए । साहित्य अनुरागीहरूको उत्साह झन् बढ्दै गयो जब दुर्गा प्रसाद पोखरेल, सुनिल संगम, विनोद अधिकारी, प्रसुन कँडेल, रश्मिता दर्लामी, वाईबी गुरुङ, जया राईलगायत सर्जकहरूले आफ्ना गजल, मुक्तक र कविता प्रस्तुत गरे । आध्यात्मिक व्यक्तित्व विष्णु प्रसाद सापकोटाले ‘जीवनमा सन्तुष्टि कसरी प्राप्त गर्ने’ विषयमा प्रेरणादायी विचार राखे ।

पुस्तकका संकलक श्रेष्ठले समाजमा रहेका दक्ष र अनुभवी व्यक्तिको ज्ञानलाई एकत्रित गरेर अबको नेपाल निर्माणको मार्गचित्र कोर्न सकिन्छ भन्ने सोचले पुस्तकको परिकल्पना गरिएको बताए ।
अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन पर्या साहित्यकार तथा लेखक विजय हितानले गरेका थिए । उक्त कार्यक्रममा पुस्तकका सम्पादकसहित चारजना लेखक र विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा साहित्य अनुरागीको गुणात्मक उपस्थिति रहेको थियो ।
नेपालको भविष्यप्रति गहिरो चासो र विचार विमर्शले भरिएको कार्यक्रम एक प्रेरणादायी विचार मन्थनका रूपमा स्मरणीय रहेको अनुभूति सहभागीहरूको भनाइ छ।
–खेमराज रानाभाट