लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले संस्थापक सभापति पदम बहादुर गुरुङको भ्रमपूर्ण अभिव्यक्ति र गतिविधिबाट सचेत रहन आग्रह गरेको छ ।
गुरुङले पछिल्लो समय संगठनको आधिकारिक ध्येय र उद्देश्यलाई बिथोल्ने किसिमका अनर्गल हल्ला, आरोप, भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै गेसोले विज्ञप्तिमार्फत त्यसमा सत्यता नरहेको जनाएको हो ।
महासचिव नर हाङ राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा गुरुङको गतिविधिले सिंगो गोर्खा आन्दोलन र जीटुजी गोर्खा वार्तालाई नै प्रभावित पारेको भन्दै गेसोको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘वर्तमानमा उहाँ संस्थाको कुनै पनि जिम्मेवारीमा नभएकोले उहाँबाट व्यक्त भएका हालका भनाइ, गतिविधि वा अभिव्यक्ति हास्यास्पद, गैरजिम्मेवार र अराजकताको पराकाष्ठा हो,’ २३ फेब्रुअरीमा जारी विज्ञप्तिमा भनिएको छ ।
भूपू गोर्खाहरूको जायज मागलाई सम्बोधन गराउँदै वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न गेसो प्रतिबद्ध रहेको पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गेसो सबैलाई संयमित रहन अराजक र भ्रम फैलाउने व्यक्तिबाट होसियार रहन र सिंगो गोर्खा वार्तालाई सफल बनाउन केन्द्रित हुन तमाम गोर्खा समुदाय र सर्वसाधारण समक्ष हार्दिक अपिल गर्दछ ।’
यस्तै , आगामी दिनमा संस्थाको अभिभावकको भूमिका निर्वाह गर्न पनि संस्थापक सभापति गुरुङसँग गेसोले अनुरोध गरेको छ ।
गोर्खा आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरिरहेको गेसोको वर्तमान नेतृत्वमाथि गुरुङले प्रश्न उठाएका थिए । हालै एक कार्यक्रममा बोल्दै उनले हालमा सभापति कृष्णकुमार राईमाथि विभिन्न आरोप लगाउँदै नेतृत्व छाड्न अल्टिमेटम दिएका थिए ।