केन्ट, लन्डन । गुरुङ समाज केन्ट यूकेद्वारा आयोजित दोस्रो कफी मोर्निङ कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रम समाजका विभिन्न उमेर समूहका सदस्यहरूको उत्साहजनक सहभागिताले झन् जीवन्त बनेको आयोजकले जनाएको छ ।
कार्यक्रम सञ्चालन समाजका महासचिव तोरण गुरुङले गरेका थिए । कार्यक्रमको प्रारम्भमा समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले गुरुङ जातिको बसाइँसराइ, संस्कृति, परम्परा तथा इतिहासबारे रोचक प्रस्तुतीकरण दिएका थिए । विशेषगरी युवा पुस्ताका लागि ज्ञानबर्द्धक यो सत्रले उनीहरूलाई आफ्नै पहिचानप्रति गर्व गर्ने प्रेरणा प्रदान गर्यो ।
यसपटक कार्यक्रमको अर्को विशेष आकर्षण गुरुङ भाषा प्रशिक्षण तथा अभ्यास सत्र रह्यो । जसलाई समाजकी द्वितीय उपाध्यक्ष ममता गुरुङले सञ्चालन गरेकी थिइन् । गुरुङ भाषा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यस सत्रले विशेषगरी युवापुस्तालाई मातृभाषा सिक्न र दैनिक जीवनमा व्यवहारमा ल्याउन उत्प्रेरित गर्यो ।
कार्यक्रममा क्होंलासोथार भ्रमण र मौलिक गुरुङ गाउँहरूको अवलोकन तथा सप्री ल्होसार पर्वको लागि सुलभ गुरुङले तयार पारिएको उत्कृष्ट भिडियो पृष्ठभूमिमा प्रस्तुत गरिएको थियो । यसले विशेषगरी युवाहरूको मनोबल उच्च पार्ने काम गर्यो र समुदायको ऐतिहासिक महत्व तथा सांस्कृतिक धरोहरमा गर्व गर्ने भावना थप प्रगाढ बनायो ।
त्यसैगरी हालै क्होंलासोथार अवलोकन भ्रमण गरी फर्किएको टोलीलाई समाजका ज्येष्ठ सदस्यले खादा अर्पण गर्दै सम्मान तथा धन्यवाद ज्ञापन गरे । गुरुङ समुदायको ऐतिहासिक थलो भ्रमण गरेर फर्किएका टोलीप्रति गरिएको यो सम्मान कार्यक्रम विशेष प्रेरणादायी रह्यो ।
सामुदायिक सम्बन्ध अझ प्रगाढ बनाउनका लागि तम्बोलाजस्ता मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरियो । यसले उपस्थित सबै सदस्यहरूलाई रमाइलो वातावरण सिर्जना गर्नुका साथै आपसी भाइचारा र सम्बन्धलाई थप मजबुत बनाउने अवसर प्रदान गर्यो ।
कार्यक्रमको अन्त्यमा खाजा तथा चिया वितरण गरियो । जसले समाजका सदस्यहरूबीच आपसी छलफल तथा सामुदायिक सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजको भनाइ छ ।
विशेषत: गत वर्षको तुलनामा यस वर्ष युवाहरूको उल्लेखनीय सहभागिता देखियो । जसले आगामी दिनहरूमा उनीहरू आफ्नै मातृभाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा अझ सक्रिय भइ योगदान दिने आशा जगाएको छ ।
यसरी ज्ञान, मनोरञ्जन, आपसी सद्भाव तथा सांस्कृतिक चेतनाले भरिपूर्ण दोस्रो कफी मोर्निङ कार्यक्रम सबैका लागि अविस्मरणीय रह्यो । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै समुदायलाई थप सशक्त बनाउने समाजको प्रतिबद्धता कायमै रहनेछ ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।