काठमाडौं । तमु धीं यूकेले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ र सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी)को सञ्चालक समिति सदस्य अनिता गुरुङलाई सम्मान गरेको छ ।
शुक्रबार सुन्धारास्थित गोर्खा हेरिटेजमा एक कार्यक्रमबीच तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले रेशमलाई क्रेगी, खादा र अनितालाई पछ्यौरा र खादासहित सम्मान गरेका हुन् । सोही अवसरमा तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङलाई पनि तमु छोंज धिंका कोषाध्यक्ष श्रीप्रसाद गुरुङले फेटा र खादाद्वारा संस्थाको तर्फबाट सम्मान गरे ।
सम्मान ग्रहणपछि प्रतिष्ठानका उपाध्यक्ष रेशमले बेलायतमा सरकारी तबरबाट गर्न नसकेको काम तमु धीं यूकेले गरिरहेको भन्दै उच्च प्रशंसा गरे । उनले भने, 'तमु धीं यूकेसँग म एकदमै नजिक छु । बेलायतमा सरकारले वा त्यहाँ नेपाली दूतावासले गर्न नसकेको नेपाली मेला, गोर्खा कप,ल्होछारजस्ता कार्यक्रम तमु धीं यूकेले सम्पन्न गर्दै आएको छ । त्यो धेरै महत्वपूर्ण कुरा हो । त्यसका निम्ति तमु धींका सबै टिमलाई धन्यवाद दिन चाहन्छु,' उनले थपे,'ल्होछारबाट जुमकाजी गुरुङज्यू नेतृत्वमा आउनुभएको छ । यहाँको कार्यकाल सुखद् रहोस् भन्ने म र हामी सबैको तर्फबाट कामना गर्न चाहन्छु ।'
उपाध्यक्ष रेशमले प्रतिष्ठान ज्ञान उत्पादन गर्ने ठाउँ भएकोले आफ्नो कार्यकालमा आदिवासी जनजातिको पहिचानका सन्दर्भमा थप केही योगदान पुर्याउने कोसिस हुने बताए । 'चार वर्षे कार्यकालमा आदिवासी जनजाति को हो ? गुगलमा खोज्दा गुरुङ को हो भन्ने फेला परोस् भन्ने उद्देश्यले 'इनसाइक्लोपीडिया अफ इन्डिजिनियस नेस्नालिटीज अफ नेपाल' प्रोजेक्टमा काम गर्न खोजिरहेको छु । साथै अहिलेसम्म सरकारले आदिवासी जनजातिमा गरिरहेको कामको प्रभाव के के छन् भन्ने खोजी गर्नमा पनि लागिरहेको छु ।'

यस्तै सञ्चारकर्मीसमेत रहेकी अनिताले सम्मानका लागि तमुधीं यूकेलाई धन्यवाद दिइन् । उनले तमु धीं यूकेको नेपाल भ्रमणमा आफ्नो समुदायमा के भइरहेको छ भन्ने बुझ्ने र अब के गर्ने भन्ने सोचका लागि उपलब्धि हासिल भयो होला भन्ने विश्वास व्यक्त गरिन् । उनले अब एनटीभी वल्ड ल्याउन लागेको पनि जानकारी गराइन् ।
यस्तै तमु ह्युल छोंज धिंका कोषाध्यक्ष श्रीप्रसाद गुरुङले तमु धीं यूकेसँगको सम्बन्ध अझै प्रगाढ होस् भन्दै अझै मिलेर काम गर्न पाइरहोस् भन्ने कामना व्यक्त गरे ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजीले पनि आफूलाई सम्मान र बधाईका लागि तमु ह्युल छोंज धींका कोषाध्यक्ष श्रीप्रसाद गुरुङसहित सबै पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । तमुधीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए यूकेका अध्यक्ष तथा तमुधीं यूकेका पूर्वअध्यक्ष हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष सीता गुरुङ, तमुधीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, तमु ह्युल छोंज धींका कोषाध्यक्ष श्रीप्रसाद गुरुङ, सुबेदार तेज गुरुङ, डा टेक गुरुङ, गोर्खा हेरिटेजका सञ्चालक बिजय गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ र तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष युग गुरुङलगायतको उपस्थिति थियो ।