लन्डन । नेकपा एमालेनिकट संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ यूके)का पदाधिकारीले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरसँग भेटघाट गरेका छन् । मञ्चका अध्यक्ष तुंगभद्र भुसालको नेतृत्वमा सोमबार दिउँसो लन्डन दूतावास पुगेको ओएनएफ यूके प्रतिनिधिमण्डलले राजदूतलाई स्वागतसहित छलफल गरेको हो । अध्यक्ष भुसालले खादा र पुष्पगुच्छासहित मञ्चका तर्फबाट राजदूत घिमिरेलाई बेलायतमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
उनले बेलायतस्थित नेपाली समुदायका चासो र सरोकारका विविध विषयमा राजदूतलाई जानकारी गराउँदै आवश्यक समन्वय र सहयोगका लागि आग्रह गरे ।
अध्यक्ष भुसालले एनआरएनए नागरिकता, पूर्व गोर्खाका समस्यादेखि बेलायतबाट नेपालले लाभ लिन सक्ने सम्भावित क्षेत्रलगायतका विषयमा संगठनका तर्फबाट सुझाव दिएका थिए ।
मञ्चका पूर्वअध्यक्ष भक्त गुरुङले बेलायतमा रहेका भूपू गोर्खा परिवारका वृद्धवृद्धाले भोग्दै आएका समस्याबारे राजदूतलाई जानकारी गराउँदै उनीहरुको सहयोगका लागि आवश्यक सहजिकरण गरिदिन आग्रह गरे ।
मञ्च पूर्वअध्यक्ष एवम् एनआरएनए केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडा, संघसंस्था विभाग प्रमुख पशुपति पोखरेल,पूर्वअध्यक्ष दिनेश घिमिरे, पूर्वअध्यक्ष राजेन्द्र पुडासैनी, ग्लोबल कमिटी सदस्य सरस्वती केसी, एनआरएनए इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष शम्भुप्रसाद अर्याललगायत राजदूत भेट्न दूतावास पुगेका थिए ।
राजदूत घिमिरेले ओएनएफ यूकेले दिएको स्वागत र सुझावहरुका लागि धन्यवाद दिएका थिए ।