लन्डन । तमु समाज यूकेकी आजीवन सदस्य स्वस्ती गुरुङ प्रतिष्ठित अमीकस थेराप्यूटिक्स बायो फर्मास्युटीकल कम्पनीको निर्देशक पदमा नियुक्त भएकी छन् । गत महिना उनी उक्त कम्पनीको औषधि सतर्कता गुणस्तर निर्देशकमा पदोन्नति भएकी हुन् ।
उनले प्रतिष्ठित कम्पनीमा उपल्लो तहको पदमा नियुक्ति पाउनु ठूलो सफलता भएको तमु समाज यूकेले जनाएको छ । स्वस्ती तमु समाज यूकेकी सक्रिय सदस्य हुन् । उद्घोषणमा पनि दक्खल राख्ने उनले विगतमा वार्षिक, सांस्कृतिक तथा परोपकारी रात्रिभोज कार्यक्रमहरूमा उद्घोषकका रूपमा महत्त्वपूर्ण भूमिका निभाउने गरेकी थिइन् ।
स्वस्तीका बुबा हरिमान गुरुङ तमु समाज यूकेको खेलकुद सचिव र आमा लक्ष्मी तमु समाज यूके आमा समूहकी कार्यसमिति सदस्य हुन् । पदोन्नतिको खुसीयालीमा तमु समाज यूकेका अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले स्वस्ती र उनको परिवारलाई गुरुङ परम्परा अनुसार खादा, फेटा र दोसल्ला ओढाएर पुष्पगुच्छा प्रदान गरी बधाई तथा शुभकामना दिएका थिए ।

कास्कीको पोखरामा जन्मिएकी स्वस्ती सन् २००६ देखि वेम्बली लन्डनमा बसोबास गर्दै आएकी छन् । प्रारम्भिक शिक्षा हङकङ र हाइस्कुल स्तरको शिक्षा ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वर काठमाडौँबाट लिइन् । वेम्ब्ली हाइ टेक्नोलोजी कलेजबाट ‘ए लेभल’ र यूनिभर्सिटी अफ ग्रिनवीच लन्डनबाट बायोमेडिकल साइन्समा ब्याचलर्स डिग्री (अनर्स) गरेकी उनले क्र्यानफिल्ड यूनिभर्सिटी बेडफोर्डसायर यूकेबाट नानो मेडिसिन विषयमा मास्टर्स डिग्री उत्तीर्ण गरेकी छन् ।
उनले आफ्नो करिअर टेभा फर्मास्युटिकल्समा वरिष्ठ औषधि सुरक्षा अनुपालन अधिकृतको रूपमा सुरु गरेकी थिइन् । त्यसपछि सेलजिनमा गुणस्तर विशेषज्ञ र अन्तरिम पीभीक्यूए प्रबन्धकको रूपमा काम गरिन् । प्राइम भिजिलेन्समा क्लाइन्ट क्वालिटी म्यानेजर, इन्टुभिजिलेन्स लिमिटेडमा क्यूए म्यानेजर, अमीकस थेराप्युटिक्समा असोसिएट डिरेक्टर अफ पीभीक्यूए हुँदै निर्देशक पदमा पुगेकी हुन् ।