लन्डन । बेलायतमा तमु ल्होसार सुरु भएको छ । रेडिङ तमु समाजले तमु ल्होसार मनाउन सुरु गरेको छ । तमु जातिको महान् पर्व पुस १५ अर्थात् ल्होसार पर्व आउँदै गर्दा बेलायतको रेडिङ सहरमा बस्ने तमुहरूको समाज रेडिङ तमु समाजले डिसेम्बर १० तारिखमा ल्होसार पर्व भव्य र सभ्यरूपमा मनाएको छ ।
समाजका अध्यक्ष रूद्रराज गुरूङको सभापतित्वमा भएको कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरूङ र तमु प्हे ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरूङ प्रमुख अतिथि थिए । रेडिङ निवासी अन्य संस्थाका अध्यक्षहरू तथा पदाधिकारीहरु विशेष अतिथि थिए ।
समाजका महासचिव याम गुरूङले संचालन गरेको पहिलो चरणको कार्यक्रममा उपाध्यक्ष देवबहादुर गुरूङले स्वागत मन्तव्य राखे । त्यसपछि समाजका अध्यक्ष रूद्रराज गुरूङ, प्रमुख अतिथिद्वय हित काजी गुरूङ र रनबहादुर गुरूङ, आमा समूहकी अध्यक्ष बिमला गुरूङ अनि संस्थापक अध्यक्ष प्रेम गुरूङले सामूहिकरूपमा पानसमा बत्ती बाले । त्यसलगत्तै नेपाली राष्ट्रिय गान र 'तमु ह्युलसा' गीत गाएर उद्घाटन गरिएको पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथिहरुले उपस्थित सबैलाई ल्होसारको शुभकामना मन्तव्य राखेका थिए ।
सोही दिनमा समाजका पूर्वअध्यक्ष ओमेन्द्र गुरूङले तमु चलचित्र ‘नुमा’ निर्माण गरी रेडिङको सफल प्रदर्शनबाट भएको मुनाफाबाट रेडिङ तमु समाजलाई ३ सय ५० पाउन्ड प्रदान गरेको र चलचित्र निर्माण गरी तमु भाषा कला संस्कृति र कलाकारहरूलाई उत्थान र सहयोग गरेकोमा सम्मान पनि गरिएको थियो । साथै नेपालबाट आएका कलाकारहरू रूपा घर्तीमगर, जसु गुरूङ र डीबी गुरूङलाई र पूर्वमिस यूके नेपाल सृजना गुरूङलाई सम्मान गरिएको थियो ।
आमा समूहको सक्रियतामा गरिएको राफल ड्र पछि अध्यक्षको ल्होसार शुभकामना र धन्यवाद मन्तव्य पछि सुरू भएको सांकृतिक कार्यक्रम संचालन सांस्कृतिक सचिव जुमबहादुर गुरूङले संयोजन गरेका थिए । पूर्वमिस यूके नेपाल तथा उद्घोषिका सृजना गुरूङले सन्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरू र अतिथि कलाकार नृत्याङ्गना तथा कोरियोग्राफर जसु गुरूङको नृत्य र अतिथि कलाकार लोक तथा दोहोरी गायिका रूपा घर्तीमगरको बेजोड प्रस्तुतिले सबैलाई मनोरन्जन दिलाएका थिए ।
कार्यक्रममा आमा समूहले सेलरोटी र टिटबिटको व्यवस्था र गोर्खा किचेन अल्डरसटले खाना व्यवस्था गरेको थियो । समाजकै सदस्यहरूको सक्रियता र सहयोगमा सुपथ मूल्यमा धेरै थरिका पेय पदार्थको व्यवस्था मिलाइएको थियो ।