लन्डन । झण्डै एक महिनाको बेलायत भ्रमणपछि गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङ नेपाल फर्किएकी छन् ।
सांसद गुरुङ आइतबार ९ जनवरी २०२५ मा लन्डनस्थित हिथ्रो विमानस्थल हुँदै स्वदेश फर्किएकी हुन् । उनको बिदाइका लागि क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका-कार्यबाहक अध्यक्ष राम गुरुङ, उनकी श्रीमती मीना गुरुङ, प्रमुख सलाहकार हरि गोविन्द गुरुङ, संस्थापक सल्लाहकार तथा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, सल्लाहकार तथा तमु समाज युकेका पूर्वअध्यक्ष अर्जुन कुमार गुरुङ, सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष कुमार गुरुङ,महासचिव ईन्द्र घोथाने, तमु समाज युकेका उपाध्यक्ष केदार गुरुङ, सल्लाहकार नारायण सिंग गुरुङ, सल्लाहकार केप्टन चन्द्र बहादुर गुरुङ, तमु समाज युकेका सल्लाहकार माया गुरुङ, उमा गुरुङ, चेलिबेटी विन्दु गुरुङ एयरपोर्ट पुगेका थिए ।
सांसद गुरुङ क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको वार्षिक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रममा सहभागी हुन गत १४ जनवरीमा बेलायत आएकी थिइन् । उनी बेलायतमा रहँदा नेपाली दूतावास लन्डन, विभिन्न नेपाली संघ संस्थाले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भएकी थिइन् ।
नेपाल फर्किँदै गर्दा सांसद गुरुङले बेलायतमा बिताएका दिनहरु अविस्मरणीय रहेको उल्लेख गर्दै क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेलाई आभार दिएकी छन् ।
'बेलायतमा बिताएका हरेक दिनहरु निकै नै अविस्मरणीय रहे । आत्मिय स्वागत, न्यानो माया र साथले मलाई यो भ्रमण अवस्मरणीय अनुभव गरायो। तपाईंहरू सबैसँग बिताएका क्षणहरू सम्झनामा रहिरहनेछन् । करिब एक महिना बेलायत बसेर नेपाल फर्किंदै गर्दा यहाँका हरेक स्मृतिहरू बटुलेर लैजान्छु । यो अवसरका लागि कोने घोताने घोण्डे समाज युके लाई हार्दिक आभार,' उनले फेसबुकमा लेखेकी छन्, 'यहाँको बसाईमा चाहेर पनि महत्वपूर्ण धेरै आत्मियजनसँग भेट्न सकिनँ, आगामी दिनमा पक्कै भेट हुने नै छ । तपाईंहरूलाई नेपालमा स्वागत गर्न पाउने आशा गर्दै, फेरि छिट्टै भेट्ने अपेक्षा गरेको छु ।'