फार्नबोरो । ब्रिटिस गोर्खा सिनियर सिटिजन फार्नबोरो-अल्डरसट समूहले स्थानीय सांसद अलेक्स बेकरलाई भेटेर आफ्ना गुनासा राखेका छन् ।
करिब ५० जना भूपू गोर्खा तथा उनीहरूका परिवार सहभागी उक्त कार्यक्रम फार्नबोरोस्थित गोर्खा भवनमा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) का अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान जेपीलाई अनुरोध गरिएपछि उक्त कार्यक्रम ७ फेब्रुअरीमा सम्पन्न भएको हो ।
सांसद बेकरलाई सिनियर गोर्खा भेट्रान समूहका अगुवा रतन राईले खादा लगाएर स्वागत गरेका थिए । राईले स्थानीय क्षेत्रका भूपू गोर्खा वृद्धवृद्धाले भोग्दै आएका समस्या सांसदसमक्ष राखेका थिए । बैठकमा सहभागी वृद्धवृद्धाले नेपाल भ्रमणको लागि न्यूनतम तीन महिने बसोबास अनुमति प्रदान गर्नुपर्ने प्रमुख माग अघि सारेका थिए । साथै, अमर राई तथा अन्य भूपूहरुले आ-आफ्ना विचार व्यक्त गर्दै बेलायतमा भोग्दै आएका सामाजिक अवहेलनाबारे समेत सांसदलाई जानकारी गराए ।
सो क्रममा सिनियर गोर्खा भेट्रान तथा उनीहरूका परिवारले बेलायतमा भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए । सार्वजनिक स्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो गरेका थिए । जसमा टोपी फाल्ने, पछ्यौरा तान्ने, अण्डा हान्ने, धकेल्ने, खिस्याउने, थुक्ने, अभद्र भाषा प्रयोग गर्ने गरेको बताए ।
![476321795_592297127045860_8147104138500237039_n-1739028968.jpg](https://gurkhamedia.com/uploads/posts/476321795_592297127045860_8147104138500237039_n-1739028968.jpg)
हाल नेपाल भ्रमण गर्दा बसोबास अवधि २८ दिन मात्रै भएकाले यसलाई कम्तीमा तीन महिना पुर्याउन माग गरिएको छ । यसअघि पनि भूपू समूहले मेजर देवानमार्फत यस्ता समस्या समाधान गर्न पहल गरेको थियो। बीजीडब्लूएस भवनमा बैठक गरी सांसदलाई पत्र लेखेर विभिन्न माध्यमबाट पहल गरेपछि केही समस्या समाधान भएको अनुभूति वृद्धवृद्धाले गरेका छन् । तर, अझै केही समस्या ज्युँका त्युँ रहेकाले सांसदसँग प्रत्यक्ष संवादको माग राख्दै पुनः बैठक आयोजना गरिएको थियो ।
बैठकको निष्कर्षस्वरूप मेजर देवानमार्फत सांसदलाई औपचारिक पत्र बुझाउने निर्णय गरिएको छ । सांसद बेकरले सबै समस्या ध्यानपूर्वक सुन्नुका साथै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उनले नेपाली भाषा बुझ्ने कर्मचारी नियुक्त गर्ने र गोर्खा समुदायसँग अझ नजिक भएर काम गर्ने आश्वासनसमेत दिइन् ।
कार्यक्रममा बीजीडब्लूएसका महासचिव क्षत्र राई, पीआर प्रकाश गुरुङ, सदस्यहरू रामधन राई, किशोर श्रेष्ठ, रामलाल श्रेष्ठ, कृष्ण राई, सुवास कायस्थ लगायतको उपस्थिति थियो ।