लन्डन । बेलायत आएर हालै मात्र कार्यभार सम्हालेका नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गोरखा भूतपूर्व सैनिकहरूको समूह जी टेनका प्रतिनिधिहरूसँगको पहिलो भेटमा गोर्खा समस्या कूटनीतिक पहलद्वारा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत ५ फेब्रुअरीमा लन्डन दूतावासमा गोरखा भूतपूर्व सैनिकहरूको समूह टिम जी टेनका प्रतिनिधिहरूसित भएको परिचय तथा भेटवार्तामा राजदूत घिमिरेले समस्या समाधानमा पहल गर्ने बताएका हुन् ।
राजदूत घिमिरेले बेलायत आएर कुराहरू बुझ्दै गरेको बताउँदै गोर्खा भूतपूर्व सैनिकहरूको समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्ने दृढता व्यक्त गरेका थिए । वार्ताको विकल्प नरहेको र वार्तामा शिष्टता, मर्यादा र कूटनीतिक मर्म पालना गर्नुपर्ने पनि उनको धारणा छ।
राजदूत घिमिरेले ३५ बुँदामा नै केन्द्रित रहेर वार्ता अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । गोर्खाहरू विभिन्न संगठनमा आबद्ध भए पनि वार्ताबाट गोर्खा समस्याको समाधान खोज्नुपर्छ र गोर्खामाथिको विभेद चाँडो अन्त्य गर्नलाई गोर्खा एकता र वार्ता चलिरहँदा कुनै एजेन्डा मोड्न नहुने प्रस्ट पारेका थिए ।
![475405206_1591472668177122_3081381679729392926_n-1738926070.jpg](https://gurkhamedia.com/uploads/posts/475405206_1591472668177122_3081381679729392926_n-1738926070.jpg)
ब्रिटिस गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपीले समस्या समाधानमा ढिला भए पनि प्रगति नभएको भन्न नमिल्ने बताए । ‘वार्ता सुरु भएको तीन वर्षभन्दा बढी भइसक्यो । तर प्रगति नभएको पनि भन्न मिल्दैन । ३५ बुँदाको जवाफ नेपाल सरकारमार्फत बेलायत सरकारको रक्षा मन्त्रालयलाई बुझाइ सकेको अवस्था छ,’ गोर्खाका प्रतिनिधि रहेका उनले भने, ‘अब ब्रिटिस सरकारको जवाफ प्रतीक्षामा हो । यो बीचमा युक्रेन युद्ध, बेलायतको सरकार परिवर्तन, नेपाली राजदूतकै तीन पटक परिवर्तन आदि कारणले ढिलासुस्ती पक्कै भएको हो ।’
उपस्थित सबैलाई आफ्नो विचार प्रस्तुत गर्नका लागि प्रशस्त समय उपलब्ध गराइएको थियो। सो अवसरमा ब्रिटिस गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यवाहक अध्यक्ष तथा वार्ताकार धर्मबहादुर तामाङ र महासचिव नरहाङ राई, आमरण अनसन बस्ने सत्याग्रहीहरू पुष्पा राणा घले र धनबहादुर गुरुङको उपस्थिति थियो ।