काठमाडौं । तमु धीं यूकेले रजत महोत्सवमा घोषणा गरेको'तमु प्रतिभा पुरस्कार-२०२४' बाट राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ (धादिङ)लाई प्रदान गरेको छ ।
आइतबार काठमाडौंमा एक समारोहबीच अध्यक्ष जुमकाजी गुरुङले मायाको चिनो, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँसहित एरिकालाई पुरस्कृत गरेका हुन् । एरिकासँगै यस वर्ष प्यारा ग्लाइडरलाई पनि पुरस्कृत भएको घोषणा गरिएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने उद्देश्य अनुरुप यो वर्षको रजत महोत्सवदेखि 'तमु प्रतिभा पुरस्कार-२०२४' घोषणा गरिएको हो । पुरस्कार हरेक वर्ष मनाइने ल्होछार कार्यक्रममा वितरण गरिने तमु धीं यूकेका महासचिव डा विशाल गुरुङले जानकारी दिए ।
आइतबार नै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्वअध्यक्ष डण्ड गुरुङलाई समेत तमु धीं यूकेले सम्मान गरेको छ । गुरुङले नेपाली पत्रकारिता र विभिन्न सञ्चारसंस्थामा रहेर समावेशी सञ्चार क्षेत्रका निम्ति योगदान दिएकोले रजत महोत्सवका अवसरमा सम्मान गरिएको डा. गुरुङले बताए ।
कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङले सम्मानित र पुरस्कृत व्यक्तित्वहरुलाई बधाई र धन्यवाद दिएका छन् । उक्त अवसरमा निवर्तमान अध्यक्ष हरि गुरुङ, एनआरएनए यूकेका अध्यक्षसमेत रहेका पूर्वअध्यक्ष हित काजी गुरुङ, ट्रस्टी तथा गीतकार एकेन्द्र गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ,निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष सीता गुरुङ,गुरुङ साहित्यिक मञ्ज नेपालका महासचिव सम्राट गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतको उपस्थिति थियो ।