लन्डन । सोंपाल समाज यूकेले गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ र मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी प्रमुख माया (दोर्जी डोल्मा) गुरुङलाई सम्मान गरेको छ ।
बुधबार साँझ गोल्डेन सिपमा विशेष कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । कार्यक्रम संस्थाका महासचिव क्या. मोहन गुरुङले सञ्चालन गरेका थिए ।
समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, आमा समूहका अध्यक्ष आमा समूहका संस्थापक तथा पूर्वअध्यक्ष, ट्रस्टी, सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्य एवं आमा समूहका सदस्यलगायतको उपस्थिति थियो ।
सांसद सरस्वती र माया गुरुङलाई फूल, दोसल्ला, खादा र मायाको चिनोले सम्मान गरेको थियो। सरस्वती र मायाले सम्मानका लागि सोंपल समाज यूकेलाई धन्यवाद दिएका थिए ।
समाजका अध्यक्ष गुरुङले औपचारिक कार्यक्रम राखेर स्वागत सम्मान गर्ने अवसर पाएकोमा उपस्थित सबैलाई धन्यवाद दिए । उनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
सांसद सरस्वतीले सोंपल समाजकी छोरी चेली भएकोमा खुसी व्यक्त गर्दै आफूले शिर झुकाउने काम नगर्ने बताइन् । अझ राजनीतिक सफलताका लागि समाजका सदस्यबाट निरन्तर सहयोग र आशीर्वादको अपेक्षासमेत गरिन् ।
त्यस्तै, स्थित मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी प्रमुख मायाले आगामी दिनमा पनि साथ, समर्थन र सहयोगको अपेक्षा रहेको बताइन् ।
यो भ्रमणमा संस्थागत र आफन्त भेटघाट उपलब्धिमूलक भइरहेको जनाउँदै बेलायतमा पाएको माया र सद्भावले थप काम गर्न प्रेरित गर्ने उनको भनाइ थियो । समाजका ट्रस्टी डेबिड गुरुङले समुदायमा सकारात्मक सन्देश फैलाउने संस्थाको उद्देश्य रहेको जनाए ।
उनले शुभकामना व्यक्त गर्दै सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । उपस्थित सबैले दुवै पाहुनालाई खादा र मालाले सम्मान गरेका थिए ।