लन्डन । ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन (बिजीनेसा) यूकेको भर्चुअल बैठक १६ जनवरी २०२५ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तथा हालै गठित तदर्थ समितिका संयोजक केश बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले संस्थाका कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै भावी योजनासमेत तर्जुमा गरेको छ I
केही समयअघि भूपू गोर्खाहरूको बाक्लो उपस्थितिमाझ पूर्वसांसद तथा नेपाल भूपू सैनिक संघका विभागीय प्रमुख महेन्द्र कुमारी लिम्बूको प्रमुख आतिथ्यमा लन्डनमा बृहत् साक्षात्कार कार्यक्रम आयोजना गरिएको थियो I लगत्तै नेपाल भूपू सैनिक संघ केन्द्रीय कार्यालयको निर्देशनमा संस्थाको अधिवेशन गर्न तदर्थ समिति गठन गरिएको थियो I
१६ जनवरीमा सम्पन्न बैठकले केन्द्रद्वारा पूर्वनिर्देशित यस विषयलाई दृष्टिगत गरी सल्लाहकार ओम गुरुङ निर्वाचन आयुक्त र सल्लहाकारद्वय रञ्जन मल्ल र शेरबहादुर सुनार सदस्य रहेको निर्वाचन कमिटी गठन गरेको छ । अधिवेशन आगामी २२ मार्चमा गर्ने निर्णयसमेत गरेको छ । सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई तीव्र रूपमा भइरहेको पनि जानकारी गराइएको छ ।
निर्वाचन कमिटीलाई सहज तुल्याउन संस्थाका उपाध्यक्ष तथा तदर्थ कमिटी सदस्य डिलबहादुर जिसी लाई व्यवस्थापकीय प्रमुख संयोजकका रूपमा तोकिएको संस्थाका महासचिव तर्कजंग गुरुङले जानकारी दिए ।
बैठकले हाल स्थगन रहेको भूपू गोर्खा समस्याबारे द्विपक्षीय वार्ताको बारेमा पनि समीक्षा गरेको थियो I लामो समयदेखि भूपू गोर्खामाथि हुँदै आएको विभेदको अन्त्य वार्ताबाट मात्र सम्भव रहेको आफ्नो पूर्ववत् अडानमा संस्था अडिग रहेकोसमेत स्पष्ट पारेको छ ।
हकहितका लागि संघर्षरत गोर्खाजन्य संघसंस्थाले विभिन्न कालखण्डमा गर्दै आएका आन्दोलनका साथै गोर्खा अभियन्तात्रय ज्ञानराज राई, पुष्प राणा घले र धनबहादुर गुरुङले गरेको आमरण अनसनका बलमा प्राप्त द्विपक्षीय वार्ताको ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्ने संस्थाको अडान कायम रहेकोसमेत बैठकमा जनाएको छ ।
साथै, गोर्खा भूपूहरूको माग पूरा गर्ने नाममा हाल बजारमा देखा परेका वैकल्पिक उपाय भनिएका कुनै पनि योजनासँग संस्था विश्वस्त नरहेको पनि जनाइएको छ I
द्विपक्षीय वार्तालाई यथाशीघ्र अगाडी बढाइ सबै पक्ष गम्भीर हुनुपर्नेमा संस्थाले जोड दिएको छ I महासचिव तर्कजंग गुरुङले सञ्चालन गरेको बैठकमा संस्थाका अधिकांश पदाधिकारी, सल्लाहकार समितिका सदस्यसहित दर्जनौँ क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता थियो I