लन्डन । सेवारो कलाकार संघ यूकेको अध्यक्षमा इन्द्रा पन्धाक लिम्बू निर्वाचित भएकी छन् । शनिबार, २५ जनवरीका दिन सगरमाथा गोर्खा नेपाली समाजको कार्यालय आस्फोर्ड, केन्टमा भएको तेस्रो अधिवेशनले पन्धाकको अध्यक्षतामा चौथो कार्यसमिति चयन गरेको हो ।
१९ सदस्यीय समितिको उपाध्यक्षमा विमला लिम्बू, भीम मादेन, जय मादेम्बा, महेश्वरी नेम्बाङ र अग्नि केदेम रहेका छन् । महासचिवमा माक्सती ओख्राबु, सचिवमा शान्ति खिम्दिङ, सहसचिव राजन नेम्बाङ, कोषाध्यक्ष सानु सुब्बा र सहकोषाध्यक्ष कुबेर हुक्पा चोङ्बाङ चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा कृष्ण कुमार हेम्ब्या, नगेन्द्र नेम्बाङ (मिडिया), कबित यक्सो (केलाङ), पदम सम्बाहाम्फे (मुन्धुम), दिलु पन्धाक (हाक्पारे), भगवती थलङ (पालाम/ ख्याली), गङा लिम्बू (केलाङ - सहायक सदस्य) र धनु याख्खा (केलाङ - सहायक सदस्य) रहेका छन् । समिति गठन गर्दा लैंगिक भेदभावबिना सबैलाई समेट्ने प्रयास गरेको निर्वाचन आयुक्त डम्मर सिंगकले बताए ।
निर्वाचन आयुक्त संगकसहित निर्वाचन सचिवमा केवाईसी यूकेका पूर्वउपाध्यक्ष एवं हालका रस्मूर नेपाली समाजका अध्यक्ष लिला सेलिङ माबो र नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष एवं केवाईसी यूकेका पूर्वउपाध्यक्ष विमला सेने रहेका थिए । संस्था सञ्चालनका लागि आवश्यकता अनुसार कार्यसमिति सदस्य थप्न मिल्ने गरी समिति गठन गरिएको आयुक्त सिंगकले बताए ।
अधिवेशनमा भएको बृहत् उपस्थितिले नयाँ उमंग थपेको उनको भनाइ छ । ‘नयाँ जोस र जँगरका साथ याक्थुङ/लिम्बु समुदायमा लिपी, भाषा, साहित्य, पत्रकारिता, पालाम, हाक्पारे, ख्याली, केलाङ, यालाङ, गीत संगीतका साथै आफ्नो संस्कृति र परम्पराको उत्थान र विकासमा ठूलो योगदान पुर्याउँदै आएका व्यक्तिहरू संस्थामा आबद्ध भएर सेवा गर्ने जोस देख्दा सेवारो कलाकार संघको भविष्य उज्ज्वल देखेको छु,’ सिंगकले भनेका छन् ।
निवर्तमान अध्यक्ष दुर्गा पाङ्मा (हु चङ्बान) नेतृत्वको कार्यसमितिले लिम्बू भाषामा औपचारिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने सामर्थ्य राख्दै सफलताका साथ दुई कार्यकाल पूरा गरेकोमा उनले बधाईसमेत दिएका छन् ।