लन्डन। बेलायत भ्रमणमा रहेका तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई पञ्चासे हर्पनडाँडा समाज यूकेले स्वागत गरेको छ ।
शुक्रबार, २४ जनवरीका दिन अल्डरसटस्थित गोर्खा किचेन रेस्टुरेन्टमा समाजका अध्यक्ष देवकाजी गुरुङले खादा र श्रीमती रिलशोभा गुरुङले फूलको गुच्छा दिएर स्वागत गरेका थिए । समाजको तर्फबाट अध्यक्षले मायाको चिनोसमेत दिएका थिए ।
समाजका महासचिव एवं कार्यक्रम सञ्चालक प्रकाश गुरुङले अध्यक्ष गुरुङको प्रसंशा गर्दै भविष्यमा पोखराको मेयरका लागि योग्य व्यक्ति भएको बताए । ‘आउने चुनावमा सबै तमुहरू एकजुट भएर साथ सहयोग दिएमा तमु धीं नेपालको पनि शान बढ्छ,’ उनले भने । अध्यक्ष देवकाजी गुरुङले तमु धीं नेपालका अध्यक्षलाई समाजका तर्फबाट स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै यूके बसाई रमाइलो तथा उपलब्धिमूलक होस् भनी कामना गरे ।
उपाध्यक्ष रवि गुरुङ र श्रीमती, कोषाध्यक्ष कृष्ण घले, सांस्कृतिक सचिव दिल गुरुङ र श्रीमती, सल्लाहकार मोन गुरुङ र श्रीमती, सदस्यहरू निर गुरुङ, किरण गुरुङ, पूर्ण गुरुङ र संगीना गुरुङले खाता लगाएर स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा कार्यसमिति सदस्यहरूको विशेष सहभागिता रहेको थियो । अध्यक्ष हुम गुरुङले अतिथि स्वागतका लागि समाजलाई धन्यवाद दिँदै बेलायत बसाइको अनुभव सुनाएका थिए । ‘तपाईंहरू यति विकसित देशमा बसेर पनि परिवारबीच समय मिलाउन कठिन देखेँ। पैसा कमाएर पनि खुशी नहुँदो रहेछ भन्ने देखियो,’ उनले भने, ‘घर, काम अनि परिवारबीच ब्यालेन्स गर्नु पर्ने देखिन्छ। तपाईंहरूको समाजले गरेको सहयोगबाट प्रभावित भएँ। जम्मा चार गाउँले मिलेर बनेको पञ्चासे हर्पनडाँडा समाजले नेपालमा ८८ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको रहेछ।’
उनले आफू दोस्रो पटक बेलायत भ्रमणमा रहेको र यस क्रममा धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरे । ‘तमु धीं यूके स्थापनाको २५औँ वर्ष पुगेको सुवर्ण अवसरमा तमु धीं नेपाल, तमु प्ये ल्हु संघ केन्द्रीय समिति, तमु बौद्ध समिति काठमाडौँ, तमु ह्यूल छो धीं राष्ट्रिय परिषद् निमन्त्रण आएको थियो तर उहाँहरू उपस्थित हुन सक्नुभएन,’ अध्यक्ष गुरुङले भने, ‘मिलेमा गोर्खा कपमा फेरि आउनेछु।’