लन्डन । बेलायत भ्रमणमा रहेका तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई सिकारी सरदार वंशु गुरुङ प्रतिष्ठान यूकेले स्वागत गरेको छ ।
शनिबार २५ जनवरी २०२५ मा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा एक कार्यक्रमबीच प्रतिष्ठान बेलायत शाखाका गुप्त गुरुङले खादाद्वारा स्वागत गरेका हुन् । त्यस अवसरमा प्रतिष्ठानको तर्फबाट र लेख गुरूङको तर्फबाट मायाको चिनोसमेत प्रदान गरेका थिए । अध्यक्ष हुमबहादुर गुरुङले आफ्नो दोस्रो कार्यकालमा गरेका कामबारे सुन्न र बुझ्न पाउँदा खुसी लागेको बताउँदै संयोजक गुरूङले पहिलो कार्यकालमा पूरा नभएका योजना पूरा होस् भन्ने आफूहरुले आशा गरेको बताए ।
सोही अवसरमा गोर्खा मिडिया यूकेका प्रबन्ध निर्देशक मिलन तमुले पनि सम्पादक तथा तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई स्वागत र बिदाइ स्वरुप खादा र मायाको चिनोसहित सम्मान गरेका थिए । प्रबन्ध निर्देशक तमुले परिस्थितिवश: संस्थाको तर्फबाट बेग्लै औपचारिक कार्यक्रम राखेर स्वागत, सम्मान गर्न नपाएकोमा क्षमा माग्दै बेलायत बसाइ सुखमय रहोस् भन्ने कामनासमेत व्यक्त गरे ।
यस्तै प्रतिष्ठानका संयोजक गुरूङलाई गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुले निरन्तर सहयोग र सद्भाव प्राप्त भइरहेको भन्दै मायाको चिनोसहित खादाले सम्मान व्यक्त गरेका थिए ।
अध्यक्ष हुमबहादुर गुरुङले सिकारी सरदार वंशु गुरूङ प्रतिष्ठान यूकेले आफूलाई तमु धीं नेपालको अध्यक्षको हैसियतमा स्वागत, सम्मान र भलाकुसारीको मौका दिएकोमा सबैलाई धन्यवाद दिए । त्यस्तै मिडिया र सामाजिक सेवासँगै अगाडि बढाइरहेको गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि उनले स्वागतका लागि धन्यवाद व्यक्त गरे ।
अध्यक्ष गुरुङले अहिलेको बेलायत भ्रमण दोस्रो रहेको उल्लेख गर्दै यसअघि पनि तमु धीं यूकेकै निमन्त्रणामा नेपाली मेला अवलोकनमा आएको स्मरण गराए । यो भ्रमणमा संस्थागत र आफन्त भेटघाट अत्यन्तै उपलब्धिमूलक भइरहेको जनाउँदै अध्यक्ष गुरुङले सिकारी सरदार वंशु गुरुङ प्रतिष्ठानसँगको भेटघाटले झनै उत्साहित बनाएको बताए । उनले बेलायतमा पाएको माया, सद्भावले समाजमा थप काम गर्न प्रेरित गर्ने भन्दै आगामी दिनमा पनि साथ सहयोग पाइरहने अपेक्षा राखे ।
तमु धीं यूकेको ठूला कार्यक्रमहरु नेपाली मेला, गोर्खाकपलगायत रहेकाले यसपटक मेमा हुने गोर्खाकपमा आफू पुन: बेलायत आउने सोच रहेको पनि उनले जानकारी गराएका छन् ।
पत्रकारसमेत रहेका अध्यक्ष हुमबहादुर तमु धीं यूकेको डिसेम्बर २८ मा आयोजित रजत महोत्सव र ल्होछार कार्यक्रमका लागि बेलायत आएका हुन् । उनी यही २९ जनवरीमा स्वदेश फर्कँदै छन् ।
गुप्त गुरूङ, श्रीमती नानुमाया गुरूङ, छोरा डा लोकेश गुरूङ, क्याप्टेन टेशरजंग गुरूङलगायत सहभागी थिए ।