लन्डन । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग भेटवार्ता गरेकी छन् ।
बेलायत भ्रमणमा रहेकी गुरुङले २३ जनवरीमा लन्डनस्थित नेपाली दूतावासमा राजदूत घिमिरे र नियोग उपप्रमुख विपिन दुवाडीसँग भेट गरेकी हुन् ।
सो क्रममा राजदूत घिमिरेसँग उनले बेलायतमा रहेका नेपालीको समस्या समाधानका लागि आग्रह गरेकी थिइन् । नेपालको उत्पादन बेलायतमा ल्याएर बेच्नेहरूलाई दूतावासले सहजीकरण गरिदिनुपर्ने उनले बताइन् । ‘आमाहरूलाई भाषाको समस्या छ। दूतावासले यसमा ध्यान दिनुपर्छ । भाषा पढाउनुपर्यो,’ उनले भनिन् ।
दूतावासमा धेरैभन्दा धेरै हेल्प डेस्क राखेर छिटो समस्या सुन्ने वातावरण बनाइदिन पनि सांसद गुरुङले आग्रह गरिन् । ‘यहाँ आएकालाई समस्या सुनाउन धेरै समय लाग्ने भयो । हेल्प डेस्क धेरै राख्नुपर्यो,’ उनले भनिन्, ‘समस्या शीघ्र सुन्ने र समाधानमा एम्बेसीले सहयोग गर्नुपर्यो ।’
दूतावासले नेपालबाट बेलायत आएर काम गर्नेहरूलाई भेला गरेर उनीहरूका समस्या सुन्ने र समाधानमा सहजीकरण गर्नसमेत दूतावासलाई आग्रह गरिन् ।
राजदूत घिमिरेले नेपालीहरूलाई परेका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए । ‘म पनि भर्खरै आएको छु, समस्याबारे जानकारी लिँदै छु,’ उनले भने, ‘तपाईंले राख्नुभएका कुरा लिपिबद्ध बनाएर म नेपाल पठाउँछु । समाधानका लागि पहल गर्छु ।’
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा सांसद गुरुङ बेलायत आएकी हुन् ।