लन्डन । क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले नवौँ भाइखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम २०२५ भव्य रूपमा मनाएको छ ।
बेलायतका नेपालीहरूको प्रमुख कार्यक्रमस्थल एम्पायर हल अल्डरसटमा समाजका सबैभन्दा ज्येष्ठ सदस्य ८२ वर्षीय एक बहादुर गुरुङको प्रमुख आतिथ्य र नेपालको गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
सधैँको जस्तो आफ्नो भाइखलक,चेलीबेटी र ज्वाइँहरूलाई सम्मान गर्दै नाचगान, चिट्ठा आदि मनोरञ्जनात्मक कार्यक्रम भएको थियो ।
प्रमुख अतिथि एक बहादुर गुरुङ, विशिष्ट अतिथि सांसद सरस्वती गुरुङ, कार्यवाहक अध्यक्ष राम गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ र प्रमुख संरक्षक क्याप्टेन जीवन कुमार गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर औपचारिक कार्यक्रम सुरुवात गरेका थिए ।
कार्यक्रम संयोजक निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार कुमार गुरुङले समाजका तर्फबाट उपस्थित सबैलाई स्वागत गरेका थिए । उनले कार्यक्रमबारे संक्षिप्तमा जानकारीसमेत गराएका थिए । लगत्तै नेपालको राष्ट्रिय गानपछि चेलीबेटीले आकर्षक स्वागत नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा समाजले सन् २०२४ मा यूकेका विभिन्न संघसंस्थामा अध्यक्ष तथा अन्य पदमा निर्वाचित दाजुभाइ, दिदीबहिनी (चेलीबेटी) र ज्वाइँहरूलाई सम्मान गरेको थियो । त्यस्तै, समाजले सन् २०२२ को यूकेको स्थानीय चुनावमा बारनेट बरोअन्तर्गत एजवेवरबरी वार्डमा कन्सरभेटिभ पार्टीको तर्फबाट दोस्रो पटक काउन्सिलरमा विजयी काउन्सिलर लक्ष्य गुरुङ र आजीवन सदस्य सत्रमान गुरुङ तथा श्रीमती कमलादेवी गुरुङकी छोरी (सुपुत्री) डा. शारदा गुरुङ ब्रिटिस आर्मीमा सिधै मेजर पदमा कमिसन भएकामा गौरवान्वित हुँदै बधाई तथा शुभकामना दिएको थियो ।
तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ र काठमाडौँमा मञ्जुश्री बालबालिका संरक्षण केन्द्र स्थापना गरी समाजसेवा गरिरहेकी चेली माया (दोर्जी डोल्मा) गुरुङ, गैरआवसीय नेपाली संघ यूकेका अध्यक्ष ज्वाइँ हितकाजी गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा निर्वाचित ज्वाइँ लाला गुरुङ र डायमन्ड बुद्धिस्ट सेन्टर प्लमस्टेडको अध्यक्षमा निर्वाचित ज्वाइँ योगेश गुरुङलाई सम्मान गरेको थियो । प्रमुख प्रायोजकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा तमु धीं नेपालको अध्यक्ष हुम क्वोने गुरुङले माघे संक्रान्तिमा चेलीबेटीलाई भात दिने मौलिक परम्परा र क्वोने गुरुङहरूको वंश (र्हो) को महत्व दर्साउँदै शिरमा लगाइदिएको क्रेगी (फेटा) जस्तो सफा र स्वछ भावनाले समाजसेवा गर्नुपर्ने बताए ।
समाजको निमन्त्रणामा बेलायत आएकी क्वोने (घोताने/घोन्डे) चेली गण्डकी प्रदेशको माननीय संसद् सरस्वती गुरुङले बेलायत जस्तो व्यस्त देशमा पनि क्वोने गुरुङ समाज यूकेले आफ्नो रितीथिती र संस्कार संस्कृतिलाई कायमै राख्दै माघे संक्रान्तिको शुभ अवसर पारेर बर्सेनि चेलीबेटी भोज कार्यक्रम आयोजना गर्नु ज्यादै सह्रानीय भएको बताइन् । केटाकेटी हुँदा खेल्ने खेल ‘यती यती पानी गंगै रानी’ स्मरण गर्दै माइतीले दिएको माया र सत्कार सधैँ स्वच्छ अनि उच्च हुने उनको भनाइ थियो ।
कार्यक्रममा चेलीबेटीहरूले कोसेली (सगुन) दिनुको साथसाथै आकर्षक नृत्य प्रस्तुत गरेका थिए । ज्वाइँ यामु गुरुङले ‘री मै थुमै’ बोलको गुरुङ गीत गाएका थिए । भाइखलक सिरी गुरुङले मनमोहक नृत्य प्रस्तुत गरे । त्यस्तै कार्यक्रममा तमु समाज यूकेले ‘गलबन्दी चिनो’ गुरुङ गीतमा आकर्षक नाच प्रस्तुत गरेको थियो ।
सांस्कृतिक तथा चिट्ठा कार्यक्रम समाजका सक्रिय सदस्य बुहारी यशोदा गुरुङले सञ्चालन गरेकी थिइन् । गायक शीतल गुरुङ र गायिका विमला गुरुङले चर्चित गीत ‘ल्याइदेऊ चिनो यूके लन्डनको’ र ‘कश्मीरे पछ्यौरी’ गाएर मनोरञ्जन गराएका थिए । लोकदोहोरी गायिका हरिमाया गुरुङले आफ्नो चर्चित गीतमा सबैलाई नचाएकी थिइन् ।
प्रमुख संरक्षक क्याप्टेन जीवन कुमार गुरुङ, पूर्वअध्यक्ष तथा संरक्षक अनेरी लेप्टेन चन्द्र बहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए । चेलीबेटी प्रमुख लिना गुरुङले माइतीको बखान अनि प्रशंसा गर्दै भव्य कार्यक्रमका लागि शुभकामना दिइन् । अन्त्यमा कार्यवाहक अध्यक्ष राम गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यक्रम संयोजक, कार्यसमिति, चेलीबेटी, प्रायोजक र उपस्थित सबैलाई धन्यवाद दिए ।
औपचारिक कार्यक्रम महासचिव ईन्द्र घोथानेले सञ्चालन गरेका थिए । प्रविधिमा अर्का भाइखलक टोउ गुरुङले सहयोग गरे । प्रत्यक्ष प्रसारण भाइखलक तमु मै ताको यूके प्रतिनिधि मिम काजी गुरुङले र एभरेस्ट मिडियाका सञ्चालक तथा तमु धीं यूकेका मिडिया सेक्रेटरी ज्वाइँ एसके गुरुङले गरेका थिए । उनले कार्यक्रमको फोटोग्राफी पनि गरेका थिए ।
-ईन्द्र घोथाने