लन्डन । तमु प्ये ल्हु संघ युकेको युवा समिति गठन गरिएको छ ।
शनिबार १८ जनवरी २०२५ टिपिएलएस भवन, रेडिङमा सम्पन्न भएको युवा समन्वय भेलाले खिम टु क्ल्हेप्री तमुको अध्यक्षमा युवा समिति गठन गरेको हो । समिति उपाध्यक्ष साजन टु क्ल्हेप्री तमु, सचिव प्रदिप केप्छे तमु, सहसचिव खुशी च्हाक्ली तमु, कोषाध्यक्ष धनरुपा योज तमु र सहकोषाध्यक्ष कुशल प्हच्यु तमु चयन भएका छन् ।
मिडिया सचिव सौगात क्र्होंगी–लम् तमु, मिडिया सहसचिव प्रदिप जङ कोने तमु, सांस्कृतिक संयोजक किश्मा ल्होँ तमु, युवा एम्बासडर सिर्जना च्हम्रु तमु तथा सल्लाहकारमा दुर्गा योज तमु रहेका छन् ।
युवा सशक्तीकरण तथा परिचालन संयोजक भेग च्हाक्ली तमुको पहल तथा तमु प्ये ल्हु संघ केन्द्रीय युवा महासचिव पवित्र प्हच्यु तमुको विशेष उपस्थिति एवं युवा एम्बासडर सिर्जना च्हम्रु तमुको सहकार्यमा सातौं कार्यसमितिको मातहातमा रहेर सक्रिय हुने गरी उक्त समिति गठन गरिएको हो । गठनको दौरानमा युवा सशक्तीकरण तथा परिचालन संयोजन भेग च्हाक्ली र केन्द्रीय युवा महासचिव पवित्र प्हच्युले युवा समितिको भूमिका र आवश्यकताबारे प्रस्ट्याएका थिए भने तमु जातिको मौलिक धर्म, संस्कार, सँस्कृति, भाषा तथा भेषभुषा लगायत ऐतिहासिक सम्पदा र संरचना आदिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनको लागि पुस्तान्तरणको अपरिहार्यता औंलाएका थिए ।
यसैगरी पुरानो पुस्ताबाट नयाँ पुस्ताले पहिचानका यी विभिन्न गहनाहरुबारे सचेत भएर समयमा नै ग्रहण गर्ने कार्य गरिएन भने संरक्षण र संवर्द्धन हुन नसक्ने अनि हराएर जाने कुरालाई मनन् गर्दै युवा पुस्ताले आफ्नो अविभावकहरुको समिपमा रहेर बुझ्ने र व्यवहारमा प्रयोगात्मक अभ्यास गर्नु अत्यावश्यक छ भन्ने कुरा स्पष्ट गराइएको थियो । उपस्थित सबै युवाहरुबीच परिचयसमेत गराइएको उक्त भेलामा युवा समितिले आ–आफ्नो विचारसमेत राखेका थिए भने अधिकांश युवाहरु तमु जातिको मौलिक धर्म, संस्कार, सँस्कृति भाषा तथा भेषभुषा आदिको बारेमा बुझ्ने, सिक्ने र जगेर्णाको लागि सक्दो भूमिका निभाउने अभिप्रायले युवा समितिमा संलग्न भई क्रियाशिल रहन उत्साहित रहेको विचार व्यक्त गरेका थिए ।
युवा समिति गठनपश्चात् औपचारिक रुपमा घोषणा गर्दै आधिकारिकता प्रदान गरिएको युवा समितिलाई तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेम बहादुर योज तमु र आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमुले बधाई ज्ञापन गरेका थिए । केन्द्रीय युवा महासचिव पवित्र प्हच्यु तमुले युवाहरुको उत्सुकता र सक्रियताको प्रशंसा गर्दै युवा कोषको लागि ५ सय २५ पाउण्ड आर्थिक सहयोग प्रदान गरिन् ।
त्यस्तैगरी आर्थिक सहयोग रकम ग्रहण गर्दै केन्द्रीय युवा महासचिवलाई धन्यवाद दिँदै युवाहरुको उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गरिएको थियो ।