लन्डन । किरात याक्थुङ चुम्लुङ (कियाचु)को कोल्चेस्टर शाखाले कक्फेक्वा तङ्नाम र येले तङ्बे भव्य रूपमा मनाएको छ ।
कोल्चेस्टर शाखाले गत सनिबार विविध सांस्कृतिक कार्यक्रमसहित पर्व मनाएको हो । कोल्चेस्टरको ग्रिनस्टीट हलमा कियाचु युकेकी केन्द्रीय अध्यक्ष कमला लिम्बुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । शुभकामना मन्तव्य राख्दै उनले आफ्नो मौलिक पहिचानसहित सांस्कृतिक चाडपर्वले एकताको सन्देश दिएको र यसले संस्कृति जगेर्नाका लागि ऊर्जा मिल्ने बताइन् ।
सो अवसरमा केलाङ (च्याब्रुङ नाच), हाक्पारे साम्लो, यालाङ (धान नाच) र अन्य नृत्यसमेत प्रस्तुत गरिएको थियो । चर्चित गायक नरेश तुम्बाहाम्फेको सांगितिक प्रस्तुतिमा सबै झुमेका थिए । याक्थुङ लिम्बुहरूको मौलिक खाना परिकार (याक्थुङ कुवा-कुजा) को प्रदर्शन पनि गरिएको थियो ।
उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई प्रशंसासहित सम्मानपत्र प्रदान गरिएको थियो । शाखा अध्यक्ष सोम हुक्पा चोङबाङ र प्रमुख अतिथिले सम्मानपत्र वितरण गरेका थिए । उपस्थित युवा र नानीहरूको भेषभुषा मूल्यांकन गरेर दियान लिम्बु र मिसन लिम्बूलाई पुरस्कृत गरिएको थियो । केन्द्रीय सदस्य देउमान माङदेन र सागर हुक्पा चोङबाङले पुरस्कार सौजन्यसहित वितरण गरेका थिए ।
कार्यक्रममा शाखाका सम्पूर्ण सदस्य, सल्लाहकार डम्मर हुक्पा चोङबाङ, शाखाका ज्येष्ठ नागरिक नहरसिङ हुक्पा चोङबाङ एवं कियाचु युके थामेन्दिङ माँ प्रतिनिधि राज कुमारी लिम्बु, याक्थुङ वेन्सा चुम्भो प्रतिनिधि नरेश तुम्बाहाम्फे, कियाचु यूके निवर्तमान सल्लाहकार नरकुमारी वनेम, कोल्चेस्टर नेपाली कमिटी यूकेका अध्यक्ष मेजर उदयबहादुर गुरुङ एमभीई, उमेश पुन एमभीओलगायतको उपस्थिति थियो ।
अतिथिद्वय मेजर उदयबहादुर गुरुङ एमभीई, उमेश पुन एमभीओलाई अध्यक्ष सोम हुक्पा चोङबाङले सिलाम साक्मा मायाको चिनो प्रदान गरेका थियो । कियाचु यूके केन्द्रीय उपाध्यक्ष सानु सुब्बाले कक्फेक्वा तङनाम र येले तङ्बेबारे प्रस्ट पारेकी थिइन् ।
सांस्कृतिक कार्यक्रम शाखा उपाध्यक्ष शोभा हुक्पा चोङबाङले सञ्चालन गरेकी थिइन् । राफल ड्र कुबेर हुक्पा चोङबाङ र शाखा उपाध्यक्षले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य शाखा उपाध्यक्ष राजकुमारी लिम्बूले राखेकी थिइन् । स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी सहसचिव देवीराज थक्लुङले जानकारी गराए ।
शाखाका अध्यक्ष सोम हुक्पा चोङबाङको अध्यक्षयतामा सम्पन्न भएको कार्यक्रम सचिव मुक्ति हुक्पा चोङबाङले सञ्चालन गरेका थिए । अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै समापन भएको घोषणा गरे ।