लन्डन । बेलायतको अल्डरसटमा तीन नेपाली महिलाले सुम्निमा ज्वेलरी एन्ड कलेक्सन पसल सुरु गरेका छन् ।
नेपाली मौलिक भेषभूषा र गरगहनाको सेवा उपलब्ध गराउने उद्देश्यले १९ जनवरी २०२५ मा सुम्निमाको ग्रान्ड ओपनिङ गरिएको हो । सञ्चालकहरुमा जानुका राई, प्रकृति राई र मनिका राई रहेका छन् ।
ओपनिङमा सहभागी इस्टमित्र, सेवाग्राहीलाई सञ्चालकहरुले खादाद्वारा स्वागत गरेका थिए ।
सञ्चालिक जानुका राईले आफूहरुले सञ्चालनमा ल्याएको कलेक्सनमा विशेषगरी राई, गुरुङ, मगर, शेर्पा, तामाङलगायत विभिन्न जातजातिको मौलिक भेषभूषा र गरगहना पाइने जानकारी दिइन् । उनका अनुसार हातले बुनेको दौरा सुरुवाल, अल्लोको ढाका टोपी, झोला, स्टकोट, भेडाको उनबाट बनाइएको कोट, बाँसको डोको, नाङ्लो, डालो, ऊनको कम्बल, हस्तकलाका मौलिक सामानहरु पाइन्छन् ।
त्यस्तै तामाङ समुदायमा प्रचलित बाजा डम्फू, ढ्यांग्रो, सारंगी, मादल, दमाहालगायत बाजागाजासमेत उपलब्ध छन् ।
सञ्चालक जानुकाले पसलभित्र म्यूजिक भिडियो बनाउन र फोटो खिच्ने ठाउँसमेत उपलब्ध रहेको बताइन् । यस्तै घरायसी प्रयोग गरिने ठेकी (कठुवा), तोङ्बाको भाँडा एवं खुर्पेटो, खुकुरी पाइन्छ भने हङकङ र सिंगापुरका झोला, साडी, लेहेंगा लगायत सामग्री ग्राहकले चाहनाअनुसार किन्न पाउने छन् ।
सञ्चालक जानुका राईले सुम्निमामा अवलोकन गर्न भने पनि आउन बेलायतवासी नेपालीलाई आग्रह गर्दै किन्ने पर्छ भन्ने नरहेको बताइन् ।
यस्तै मोनिका राईले एक हप्ता ओपनिङ टाइम रहने बताइन् । उनले बेलायतमा बसे पनि नेपाली संस्कृतिलाई जोगाइराख्नका लागि मौलिक गरगहना र नौगेडी, रानीहार, पिरुमाला पाइने भन्दै चाहिएको सामान अर्डर गरेकोमा एक हप्ताभित्र तयारी गरिसक्ने पनि बताइन् । अन्त्यमा सञ्चालकहरुले ओपनिङमा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।