गण्डकी प्रदेश सांसद सरस्वती गुरुङलाई स्वागत तथा अभिनन्दन लन्डन । स्याङ्जा समाज युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा अध्यक्ष भरत गुरुङको अध्यक्षतामा समाजको साधारणसभा सम्पन्न भएको हो ।
अध्यक्ष भरत गुरुङ, संस्थापक अध्यक्ष शारदा गुरुङ, आमा समूहकी अध्यक्ष हुमकुमारी गुरुङ र फस्ट लेडिजबाट संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी साधारणसभा उद्घाटन गरिएको थियो । महासचिव रामराज शर्माले सन्चालन गरेको कार्यक्रममा संस्थाको उपाध्यक्ष दुर्गा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा पदभार तथा सफलता हासिल गर्ने व्यक्तित्वहरुलाई संस्थाको तर्फबाट खादा र फेटा लगाइ बधाई दिइएको थियो । यसरी नै बैठकमा महासचिव र संस्थाका कोषाध्यक्षले वर्षभरिका प्रगति विवरण साथै आर्थिक प्रतिवेदन पेस गरेका थिए । उक्त अवसरमा संस्थाको आगामी कार्ययोजनाबारे विभिन्न विषयमा बुँदागत छलफल गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा नेपालबाट बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस नेतृ सरस्वती गुरुङलाई अभिनन्दन तथा परिचयात्मक कार्यक्रम राखिएको थियो । संस्थाका अध्यक्ष भरत गुरुङले सांसद सरस्वतीलाई वार्षिक बैठकमा स्वागत गर्दै संस्थाको पदाधिकारीहरुलाई परिचय गराएका थिए । संस्थापक अध्यक्ष तथा संरक्षक शारदा गुरुङ, संरक्षक क्या. प्रेमबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष हुम कुमारी गुरुङले बैठकमा सांसद सरस्वती गुरुङको उपस्थितिप्रति धन्यवाद दिँदै संस्थाले गरेका कार्यहरुको संक्षिप्त वर्णन गर्नुको साथै संस्थाको तर्फबाट सांसद सरस्वतीलाई स्वागत तथा अभिनन्दन गरेका थिए ।
प्रदेश सांसद् सरस्वती गुरुङले स्याङ्जा समाज युकेको वार्षिक साधारणसभामा उपस्थित भई संस्थाले गरेका कार्यहरुप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा समग्र रूपमा आफ्नो देश विकास र पर्यटन विकासमा समेत स्याङ्जा समाज युकेले महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्दै सल्लाह र सुझाव दिएकी थिइन् ।
साधारणसभामा विभिन्न संस्थाहरूका अध्यक्ष, प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी र स्याङ्जा समाजका पदाधिकारी, सदस्य, पूर्वपदाधिकारी, सल्लाहकारहरूको उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष भरत गुरुङले वार्षिक बैठकमा उपस्थित भइ सल्लाह, सुझाव दिने सबैलाई धन्यवाद दिएका थिए ।