हे टिकटके नानी
मलाई तिमीसँग टिकटकमै बोल्नु छ
मलाई तिमीसँग टिकटकमै प्रेम गर्नु छ
मलाई तिमीसँग टिकटकमै घरजम गर्नु छ
किनकि
अस्ति तिमीलाई बाटोमा देखेको
म ठाउँको ठाउँ अचम्मित हुँदै मुर्छित भएँ
किनकि
टिकटकमा २१ की तिमी
बाटोमा ४१ की देखियौ
मलाई निल्नु न ओकल्नु बनायौ !!!
मलाई फेरि मुर्छित हुनु छैन
मलाई फेरि एम्बुलेन्स चढी अस्पताल जानु छैन
मलाई फेरि रमिता देखाउनु छैन
मलाई फेरि बिनासित्ती डाक्टरलाई फिस तिर्नु छैन
त्यसैले
हे टिकटके नानी
मलाई तिमीसँग टिकटकमै बोल्नु छ
मलाई तिमीसँग टिकटकमै प्रेम गर्नु छ
मलाई तिमीसँग टिकटकमै घरजम गर्नु छ !!!
हे टिकटक एप
मलाई तिमीसँग गुनासो छ
तिमीले किन ??
४१ की लाई २० वर्ष कान्छी देखायौ ?
म पीएचडी गरेको मान्छेलाई पनि
कसरी मुर्ख बनायौ ?
त्यसैले
तिम्रो त्यो छलकपटको लागि
न्यायालयमा मुद्दा हाल्नु छ
तिम्रो छलकपटले पर्न गएको
क्षतिको क्षतिपूर्ति सरकारसँग माग्नु छ
त्यसैले
हे टिकटके नानी
मलाई तिमीसँग टिकटकमै बोल्नु छ
मलाई तिमीसँग टिकटकमै प्रेम गर्नु छ
मलाई तिमीसँग टिकटकमै घरजम गर्नु छ !!!
वास्तवमा गल्ती तिम्रो हैन मेरै हो
वास्तवमा राम्री तिमी हैन टिकटक एप हो
म गल्ती र एपको चेपुवामा परेको छु
तिम्रो वास्तविक रुप देख्दा देख्दै पनि
म तिम्रो टिकटके रुपमा लठ्ठिएको छु
एकछिन तिमीलाई टिकटकमा देखिन भने
च्याठिन्छु, निसासिन्छु, आतिन्छु
त्यसैले
हे टिकटके नानी
मलाई तिमीसँग टिकटकमै बोल्नु छ
मलाई तिमीसँग टिकटकमै प्रेम गर्नु छ
मलाई तिमीसँग टिकटकमै घरजम गर्नु छ !!!
हे टिकटके नानी
तिमी टिकटकमा बोकिरहेछौ
लाइक, कमेन्ट्सको भारी
याद राख बाटोमा देखेँ भने
सबैले गर्नेछन् भएभर्को गाली
त्यसैले
टिकटके नानी
नक्कली रुपको घुम्टो ओढी
नआऊ टिकटकमा खाली
हिम्मत छ भने सक्कली रुपमा सजिएर
आउनु है अर्को पाली
अनि
म बदल्ने छु मेरा सोचाईहरु
जस्तै
मलाई तिमीसँग टिकटकमै बोल्नु छ
मलाई तिमीसँग टिकटकमै प्रेम गर्नु छ
मलाई तिमीसँग टिकटकमै घरजम गर्नु छ !!!
ठेगाना - मादी गाउँ पालिका,१०, कास्की
हाल - बेलायत