लन्डन । तमु धीं यूकेको नवनिर्वाचित १३औँ कार्यसमितिको पहिलो तथा रजत महोत्सवको समीक्षा बैठक सम्पन्न भएको छ ।
११ जनवरीमा आफ्नै भवन मिचेटमा बैठक सम्पन्न भएको छ । महासचिव डा. विशाल गुरुङले बैठकबारे जानकारी गराउँदै स्वास्थ्य र सुरक्षाबारे जानकारी गराए । वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले पानसमा बत्ती बालेर बैठक शुभारम्भ गरेका थिए ।
त्यसपछि ल्होछार संयोजक कमल गुरुङले भर्खरै सम्पन्न ल्होछार र रजत महोत्सव कार्यक्रमबारे जानकारी गराए । संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले पनि ल्होछारका बारेमा बोलेका थिए । संस्थाका ट्रस्टी एवं एनआरएनए आईसीसी सल्लाहकार सूर्य गुरुङले ल्होछारको खानाका विषयमा केही कुरा राखेका थिए ।
निवर्तमान अध्यक्ष हरिप्रसाद गुरुङले ल्होछार कार्यक्रमको समीक्षात्मक भनाइ राखेका थिए । उनले कार्यक्रम सञ्चालनका क्रममा भएका कमीकमजोरी र भविष्यमा सुधार गर्नुपर्ने पक्षको पनि जानकारी गराएका थिए । कार्यक्रमको आयव्यय निवर्तमान कोषाध्यक्ष दीलमाया गुरुङले प्रष्ट पारेकी थिइन् ।
समीक्षात्मक बैठकअघि १३औँ कार्यसमितिको बैठक बसेको थियो । नयाँ कार्यसमितिको पहिलो बैठक भएकाले परिचयात्मक भएको थियो । बैठकमा संस्थाका आगामी कार्यक्रम र योजनाका विषयमा अध्यक्षले जानकारी गराएका थिए ।
त्यसपछि, सन् २०२५ को गोर्खाकपको विषयमा स्पोर्टस सेक्रेटरी क्याप्टेन दीपक घलेले भनाइ राखेका थिए । अध्यक्ष जुमकाजी गुरुङले नयाँ कार्यसमिति आएपछि हुने नेपाल भ्रमणका विषयमा भनाइ राखेका थिए । सो क्रममा उनले भ्रमणमा कहिले जाने, नेपालमा केके गर्ने भन्ने जानकारी गराए । उनले तमु धीं यूकेको टोली ३१ जनवरीमा नेपाल भ्रमणमा जाने पनि जानकारी गराए ।
रजत महोत्सव र ल्होछार सम्पन्न गर्न अहोरात्र रूपमा खट्ने संयोजक कमल गुरुङ, मीनप्रसाद गुरुङ, विमल गुरुङ, एकेन्द्र गुरुङ, मिलन तमु, एसके तमु, निवर्तमान अध्यक्ष हरि गुरुङ, आमा समूहका निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, एनआरएनए आईसीसी सदस्य तथा गाेर्खा ट्राभलका प्रबन्ध निर्देशक दिलरास गुरुङलगायत सबैलाई अध्यक्ष र आमा समूहका अध्यक्षले खादा र फेटा लगाएर सम्मान गरेका थिए।
यस्तै, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ, सपन कुमार राई, साधुराम गुरुङ र पत्रकार लाला गुरुङलाई पनि अध्यक्ष र आमा समूहका अध्यक्षद्वारा खादा र फेटा लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।
अन्त्यमा अध्यक्ष जुमकाजी गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।