लन्डन । किराँत सुनुवार सेवा समाज बेलायतको अध्यक्षमा आकाश सुनुवार चयन भएका छन् । ११ जनवरीमा सम्पन्न आठौँ अधिवेशनले आकाशको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा केदार संकेत तथा प्रकाश सुनुवार, सचिवमा परिस्पा सुनुवार, उपसचिवमा सुमी सुनुवार, कोषाध्यक्ष खजेन्द्र विक्रम सुनुवार र उपकोषाध्यक्ष मिलन सुनुवार मनोनीत भएका छन् ।
अधिवेशन दुई भागमा सञ्चालन भएको थियो । संस्थाका सचिव गीतराजले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष इन्द्रकुमार सुनुवारले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । अध्यक्ष मनोज कुमार सुनुवारले आफूले तीन वर्षसम्म गरेका कामबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
मन्तव्यका क्रममा सुनुवार सेवा समाज बेलायतका संस्थापक तथा पूर्वअध्यक्ष विजयकुमार मुखियाले सन् २०१७ देखि २०२५ सम्म संस्थामा कार्यरत सबैलाई एकमुस्ट धन्यवाद दिए । त्यसैगरी, पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले जो मनोनीत भए पनि संस्थाको विधानलाई आधार मानेर संथालाई सकारात्मक तरिकाले अघि डोर्याउनेमा आफू ढुक्क भएको बताए ।
कार्यक्रमको दोस्रो सत्रमा, अध्यक्ष मनोज कुमार सुनुवारले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । आठौँ निर्वाचन आयोगकोमा संस्थाका पूर्वअध्यक्षद्वय जितेन्द्र सुनुवार तथा यादवकुमार दर्सुचा र सचिव छत्र सुनुवार रहेका थिए ।
जितेन्द्र सुनुवारको संयोजकत्वमा रहेको आयोगले सातौँ कार्यकालका पदाधिकारीको कार्यकाल समाप्त भएको र नयाँ कार्यसमितिको नाम बन्द खामभित्र भएको खुलासा गर्दा हल तालीले गुन्जिएको थियो ।
नवनिर्वाचित अध्यक्ष आकाश सुनुवारले आफ्नो समाजको अध्यक्ष बन्नु राष्ट्राध्यक्ष हुनुभन्दा ठूलो भएको बताए । ‘टिममा चयन गरिएका समितिका सदस्यहरू केवल सेवक हौँ, जसले तपाईंहरूको हित र भविष्यका लागि काम गर्नुपर्नेछ । मेरो नेतृत्वको यो कार्यकाल तपाईं सबैको एकता र प्रगतिका लागि समर्पित हुनेछ,’ उनले भने ।
समाज व्यक्ति र परिवारको भएकाले आफ्नो कार्यकाल समाजको इतिहासमा एउटा नयाँ युगको थालनी मानिने अध्यक्ष आकाशको भनाइ थियो ।
समाजका सल्लाहकार, बुद्दिजिवी, साहित्यकार, युवा समुह तथा संस्थाका पूर्वपदवहक सबैको उपस्थिति थियो ।