लन्डन । बेजिङ्स्टोक नेपाली कम्युनिटी यूकेले हरेक हप्ता आयोजना गर्ने ज्येष्ठ नागरिकहरूको कफी मर्निङ सम्पन्न भएको छ।
शुक्रबार भएको उक्त कार्यक्रममा १० बजेदेखि साढे ११ बजेसम्म गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता पदम बहादुर गुरुङसँग भलाकुसारी गरिएको थियो।
बेजिङ्स्टोक गेसोका अध्यक्ष जस बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम बेजिङ्स्टोक नेपाली कम्युनिटीका एल्डर पिपुल कोअर्डिनेटर तथा गेसो केन्द्रीय अभियन्ता उतर सुन्दासले सञ्चालन गरेका थिए ।
कार्यक्रममा गेसोका केन्द्रीय बरिस्ठ उपाध्यक्ष तथा तत्कालीन तमागी गाविस कास्कीका अध्यक्ष भक्त बहादुर गुरुङ, बेजिङ्स्टोक नेपाली कम्युनिटीका भुपु महासचिव तथा वर्तमान पब्लिक रिलेसन अफिसर निशा शर्मा (क्यान्सर सचेतना सम्बन्धी), सामाजिक अभियन्ता मेजर जुद्द बहादुर गुरुङ वक्ताका रूपमा थिए ।
गेसो संस्थापक अध्यक्ष गुरुङले मुख्य रूपमा तीन कुरामा जोड दिएका थिए। गेसोको आन्दोलन पूरा गरेरै छाड्ने, अहिले बेलायतमा बस्ने छोराछोरीको बस्ने अधिकार सुनिश्चित गर्ने र भविष्यमा बेलायतबाट नलखेटिने जस्ता कुराको ग्यारेन्टी गर्न लागिपरेको उनले बताएका थिए ।
आफू अहिले केही अस्वस्थ भए पनि गोर्खालीहरूका लागि लडिरहने उनको प्रण थियो । ‘मलाई जन्मदिने आमा बाहेक मेरो स्वास्थ्य उपचारका लागि मेजर उदय बहादुर गुरुङ एमबीईको संयोजकत्वमा पैसा उठाएर तपाईंहरूले अर्को आमाको भूमिका निर्वाह गर्नुभयो, धेरै धेरै धन्यवाद छ,’ उनले भावुक हुँदै भने ।
अन्त्यमा गेसो बेजिङ्स्टोकका अध्यक्ष जस बहादुर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै गोर्खाली यस आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरे।