लन्डन । सोंपाल समाज युकेको ल्होछार कार्यक्रम लन्डनको ग्रिनफोर्डस्थित टाउनहलमा भव्य रूपमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता र शान्ता कुमारी गुरुङको प्रमुख आतिथ्यमा ४ जनवरीमा धूमधामका साथ ल्होछार मनाइएको हो ।
कार्यक्रममा तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ र उनकी धर्मपत्नी कमला गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ र उनकी धर्मपत्नी सन्ध्या गुरुङ, नेपालबाट ल्होछारको अवसरमा आएका धर्मगुरु धिरबहादुर गुरुङ विशिष्ट अतिथिको रूपमा रहेका थिए ।
सो अवसरमा ज्वाईं, चेलीबेटी तथा भान्जाभान्जीलाई सधैँझैँ विशेष निमन्त्रणा गरिएको थियो । कार्यक्रमका दौरान संस्थाभित्र शिक्षा, पदोन्नति, नयाँ वैवाहिक जोडी, न्यु कमर्स, नयाँ व्यापार व्यवसाय जस्ता विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने व्यक्तिहरूलाई स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रमको तयारी, औपचारिक कार्यक्रम, मनोरञ्जनात्मक गरी कार्यक्रमलाई तिन भागमा विभाजन गरिएको थियो । औपचारिक कार्यक्रम संस्थाका महासचिव क्या. मोहन गुरुङ तथा मनोरञ्जनात्मक कार्यक्रम सांस्कृतिक सचिव सिर्जना गुरुङ र निलम गुरुङले सञ्चालन गरेका थिए ।
मनोरञ्जनात्मक कार्यक्रममा नेपालबाट आएका गायक राजबहादुर गुरुङ तथा स्थानीय कलाकार निता गुरुङको प्रस्तुतिले सबैलाई नचाएको थियो ।
ल्होछार कार्यक्रमको संयोजकत्व उपाध्यक्ष भरत गुरुङले गरेका थिए । अन्त्यमा अध्यक्ष जगदीश गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थित सबैलाई धन्यवाद दिँदै नयाँ वर्षको शुभकामनासहित कार्यक्रम समापन गरेका थिए ।