लन्डन । तमु धीं यूकेका महासचिव एवं समाजसेवी डा. विशाल गुरुङले नेपालमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएका छन् ।
निःशुल्क आँखा शिविरको दोस्रो संस्करण आगामी फेब्रुअरीमा पर्वत र सर्लाहीमा सञ्चालन गर्ने भएका हुन् । नेपाल नेत्रज्योति संघसँगको समन्वयमा पर्वतको कुस्मा र चार भन्ज्याङमा १०,११, १२ र १३ फेब्रुअरी तथा सर्लाहीमा १८, १९ र २० फेब्रुअरीमा शिविर चल्नेछ ।
आँखा शिविर सञ्चालनका लागि आर्थिक संकलन गर्न यही १७ जनवरीमा बेलायतमा ‘फन्ड रेजिङ डिनर नाइट’ आयोजना गरिएको छ । ‘राम्रो आँखाको ज्योति, राम्रो जीवनका लागि’ नारासहित अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा टिकटदर ४५ पाउन्ड तोकिएको छ । शिविरका लागि संघसंस्था र व्यक्तिहरूले सहयोग गर्न सक्नेछन् । यस पटक तमु धीं यूके आमा समूह, चार भन्ज्याङ तमु समाज यूके, पर्वत वेल्फेयर सोसाइटीलगायत संस्थाले सहयोग गर्ने जनाइसकेका छन् ।
कार्यक्रममा उपस्थित भएर परोपकारी काममा लागि सहयोग गरिदिन डा. विशालले संघसंस्था तथा व्यक्तिहरूलाई अनुरोध गरेका छन् । सो अवसरमा खानासँगै राफल ड्र जस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन् । डिनर नाइटका लागि तमु धीं यूकेले दुई वटा टेबल बुक गरिसकेको छ । अन्य संघसंस्थाले पनि टेबल बुक गरिरहेको उनले जानकारी दिए ।
आँखा शिविरलाई सफल बनाउन आवश्यक तयारीका लागि कुस्मा नगरपालिकाका मेयरसहित अन्य व्यक्ति तथा संघसंस्थासँग कुरा भइरहेको डा.विशालले बताए । शिविरका लागि कुस्मामा हिमालयन आँखा अस्पतालबाट र सर्लाहीका लागि भरतपुर आँखा अस्पतालबाट चिकित्सकको टोली खटिनेछन् ।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका अध्यक्ष डा. ओम प्रसाद गौतम र नेपाल नेत्र ज्योति संघका अध्धक्ष डा. चेतराज पन्तले आँखा शिविरमा सुरुआतदेखि नै सहयोग गर्दै आएको डा. विशालले जानकारी दिए ।
डा. विशालले यसअघि सन् २०२३ फेब्रुअरीमा शिविरको पहिलो संस्करण सञ्चालन गरेका थिए । स्याङ्जाको पुतलीबजार नगरपालिकामा भएको शिविर सफल भएकाले नै दोस्रो संस्करण गर्न लागिएको उनको भनाइ छ । नगरपालिकालाई मोतीयाबिन्दु मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत भएको शिविरबाट ४ हजार ४७० जनाले सेवा लिएका थिए । ९४ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।