रेडिङ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले शनिबार ४ जनवरी २५ मा 'नेपाल डायलग युके' नामक नयाँ मासिक अनलाइन वेविनार श्रृंखला सुरु गर्दै छ ।
नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान आदानप्रदान गर्ने लक्ष्यका साथ यो वेविनार सुरु गर्न लागिएको सिएनएस युकेले जनाएको छ । जूमबाट हुने यस वेविनारमा नि:शुल्करूपमा सहभागी हुन सकिने छ ।
त्यसपछि हरेक महिनाको पहिलो शनिबार बिहान बेलायती समयअनुसार १० बजेदेखि ११:१५ बजेसम्म (नेपाली समय दिउँसो ३:४५ बजेदेखि ५ बजेसम्म) सो वेविनार सन्चालन हुने छ ।
पहिलो सत्रमा नेपालबारे दशकौँदेखि अनुसन्धान गर्दै आएका अक्सफोर्ड विश्वविद्यालयका पूर्वप्राध्यापक डेभिड गेल्नरले 'नेपाल र प्रवासमा मन्दिर र पहिचान' विषयमा प्रस्तुति दिनेछन् । 'यो सत्रले नेपाल (जन्मभूमि) र नयाँ आप्रवासन गन्तव्यहरू, विशेष गरी बेलायतमा हुने दैनन्दिन धार्मिक अभ्यासहरूबारे गहिरो अनुसन्धानमा आधारित जानकारी प्रदान गर्नेछ,' नेपाल डायलग युकेका संयोजक डा. कृष्ण अधिकारीले जानकारी दिँदै भने । 'हामी आशा गर्छौं कि यसले विचारोत्तेजक छलफलहरूलाई प्रेरित गर्नेछ साथै नेपाल र नेपाली प्रवासी समुदायलाई जोड्दै सांस्कृतिक अभ्यासहरूको समझदारी र साझा शिक्षालाई प्रवर्द्धन गर्नेछ।'
सिएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले वेविनार श्रृंखला अर्थपूर्ण संवादका लागि एक जीवन्त मञ्च सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । ढकालले भने, 'अनुसन्धाताहरू, शिक्षाविद्, पेशाकर्मीहरू र सर्वसाधारणलाई एकत्रित गरी नेपाल र प्रवासी नेपाली समुदायका लागि महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल गर्ने आशा हामीले गरेका र्छौं ।'
यो वेविनार श्रृंखलामा नेपाल र प्रवासी नेपाली समुदायसित सम्बन्धित विभिन्न प्राज्ञिक अनुसन्धानात्मक छलफलका साथै विभिन्न दैनन्दिन सरोकार विषयहरू समेटिनेछन् । सिएनएस युकेले यस वेविनारमा अन्य संस्थाहरूसित पनि सहकार्य साझा चासोका विषयमा छलफल गराउने योजना पनि बनाएको छ।