लन्डन । आज (३० डिसेम्बर २०२४ मा) गुरुङ समुदायको ल्होसारको मुख्य दिन । यही अवसरमा तमु प्ये ल्हु संघ युकेले अल्डरसटस्थित एम्पायर हलमा सप्ह्री ल्हो (सर्प वर्ग) को अवसरमा ल्होसार महोत्सव आयोजना गर्दै छ ।
यस वर्ष तमु (गुरुङ)हरुले मुप्ह्री ल्हो (गिद्ध वर्ग) लाई बिदाइ र सप्ह्री ल्हो (सर्प वर्ग) को स्वागतमा ल्होसार अर्थात् नयाँ वर्ष मनाउँदै छन् । 'तमु प्ये ल्हु संघ युकेले सप्ह्री ल्हो (सर्प वर्ग) आगमनको पावन अवसरमा यही ३० डिसेम्बर २०२४, सोमबारका दिनमा सप्ह्री-ल्होसार महोत्सव आयोजना गर्न गइरहेको जानकारी गराउँदछु,' संघले निकालेको सूचनामा उल्लेख छ, 'उक्त कार्यक्रममा युकेमा छरिएर बस्नु भएका समस्त दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थिति भई कार्यक्रमलाई सफल पारिदिन हुन हार्दिक विनम्र अनुरोध गर्दछ ।'
कार्यक्रममा बिहान ९ बजे धार्मिक पूजा हुनेछ । त्यस्तै ख्यातीप्राप्त कलाकाहरु शितल गुरुङ, बिमला गुरुङ, राजबहादुर गुरुङ, आश्रम गुरुङ, पवित्रा गुरूङबाट प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम, कक्टेल डान्स पनि हुने तमु प्ये ल्हु संघ युकेका प्राविधिक इन्द्रेश ङोप्छेले जानकारी दिए ।
कार्यक्रममा सहभागीले प्रवेश शुल्क २५ पाउन्ड तिर्नुपर्ने छ ।
यस्तै नेपाल लगायत विभिन्न मुलुकमा रहेका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।